
सुनसरी ।इटहरी भलिबल क्लबको आयोजनामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिता आगामी माघ ७ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा आयोजना गरिने आयोजक क्लबले जनाएको छ।
खेलकुद शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आयोजकले इटहरी क्षेत्र कुनै समय भलिबल खेलको उर्वरभूमिका रूपमा चिनिन्थ्यो भन्ने स्मरण गराएको छ। विगतमा २०४७, २०४८, २०७३ र २०७८ सालमा इटहरीमा राष्ट्रियस्तरका ठूला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका थिए, जसमा त्यस समयका चर्चित राष्ट्रिय खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पछिल्ला वर्षहरूमा स्थानीय खेल गतिविधि कमजोर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै, युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने, अनुशासन र टीमवर्कको भावना विकास गर्ने तथा कुलत र नकारात्मक गतिविधिबाट टाढा राख्ने उद्देश्यसहित “स्वस्थ समाजका लागि खेलकुद” भन्ने नारासाथ इटहरी भलिबल क्लब स्थापना गरिएको आयोजकले जनाएको छ। क्लबको पहिलो चरणको कार्यक्रमका रूपमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा कोशी प्रदेशअन्तर्गतका विभिन्न पालिकाबाट प्रतिष्ठित भलिबल टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडी, सरोकारवाला निकाय र खेलप्रेमीबीच आपसी समन्वय विकास गर्दै भलिबल खेललाई स्थानीय, प्रादेशिक हुँदै राष्ट्रिय स्तरसम्म संस्थागत रूपमा अघि बढाउनु हो।
प्रतियोगिता सञ्चालनका लागि करिब रु। ५ लाख ८० हजार खर्च अनुमान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई रु। १ लाख नगदसहित प्रथम पुरस्कार तथा रु। ५० हजार नगद द्वितीय पुरस्कार प्रदान गरिनेछ। यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमलाई प्रति टिम रु। १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रिय स्तरका बढीमा तीन जना खेलाडी मात्र सहभागी गराउन पाइने व्यवस्था गरिएको छ। तोकिएको संख्याभन्दा बढी राष्ट्रिय खेलाडी सहभागी गराइएको पाइएमा रु। ५ हजार ‘प्रोटेस्ट फि’ तिरेर आयोजक समक्ष उजुरी दिन सकिने र सो विषयमा अन्तिम निर्णय आयोजक समितिले गर्ने व्यवस्था गरिएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीय निकाय तथा सरोकारवाला सबै पक्षको सहयोग अपेक्षा गरेको छ।





