- विचार दृष्टिकोण : - तीर्थराज बजगाई
विचार दृष्टिकोण : तीर्थ बजगाईं

कहिलेकाहीँ भीडभित्र उभिएर एउटा अनौठो डर लाग्छ, यति धेरै मानिसहरू छन्, तर मानिसपन कति छ ? सडकहरू मानिसले भरिएका छन् । बजारहरू मानिसले भरिएका छन् । कार्यालय, विद्यालय, अस्पताल, चोक र सामाजिक सञ्जाल सबैतिर मानिसकै भीड छ । मानिसहरू हिँडिरहेका छन्, दौडिरहेका छन्, बोलिरहेका छन्, हाँसिरहेका छन्, आफ्ना सफलता सुनाइरहेका छन् । तर यही भीडभित्र कतै एउटा अदृश्य रिक्तता फैलिएको छ । त्यो रिक्तता मानिसको अभाव होइन, मानिसपनको अभाव हो ।

सायद हाम्रो समयको सबैभन्दा ठूलो त्रास यही हो हामीले मानिसहरू हराएका छैनौँ, मानिसभित्रको मानिस हराउँदैछौँ ।एक समय थियो, अपरिचितको पीडा देख्दा पनि मन भारी हुन्थ्यो । बाटोमा लडेको मानिसलाई उठाउनु कुनै असाधारण काम थिएन । छिमेकीको दुःख आफ्नो घरसम्म आइपुग्थ्यो । कसैको घरमा चुलो नबलेको थाहा पाएपछि अर्को घरको भान्सामा चिन्ता पलाउँथ्यो । सम्बन्धहरू धेरै औपचारिक थिएनन्, तर आत्मीय थिए । मानिससँग धेरै बाँड्ने चिज थिएन, तर बाँड्ने मन थियो । आज हामीसँग धेरै कुरा छन् । हामीसँग सुविधा छन्, प्रविधि छ, ज्ञान छ, सम्पर्कका असंख्य माध्यम छन । संसार हातको पर्दाभित्र अटाएको छ । तर विडम्बना, संसारलाई हातभित्र अटाउने मानिसले कहिलेकाहीँ अर्को मानिसको पीडा हृदयभित्र अटाउन छोडेको छ ।
मोबाइलको पर्दामा हामी संसारका दुःख देख्छौँ । युद्ध, भोक, दुर्घटना, हिंसा, अपमान र आँसु सबै हाम्रो आँखाअगाडि आइपुग्छन् । हामी केही क्षणका लागि स्तब्ध हुन्छौँ, प्रतिक्रिया दिन्छौँ, एउटा चिन्ह राख्छौँ, केही शब्द लेख्छौँ, अनि अर्को समाचारतिर लाग्छौँ । तर कतै कसैको जीवन भने त्यहीँ अड्किएको हुन्छ । हाम्रो संवेदना पनि आजकल समाचारको आयु जस्तै छोटो हुँदै गएको छ । बिहानको आक्रोश बेलुकासम्म सेलाउँछ । हिजोको आँसु आजको नयाँ घटनाले ढाकिदिन्छ । पीडा निरन्तर हुन्छ, तर हाम्रो ध्यान क्षणिक हुन्छ । सायद पीडा देख्ने आँखा त हामीसँग अझै छन्, तर पीडा बुझ्ने हृदय थाक्दै गएको छ । मानिसभित्रको मानिस एकैपटक हराउँदैन । ऊ बिस्तारै हराउँछ । पहिलोपटक कसैको अपमान देख्दा हामी मौन बस्छौँ । दोस्रोपटक कसैमाथि अन्याय हुँदा भन्छौँ, “यो मेरो विषय होइन ।” तेस्रोपटक कसैको आँसु देख्दा हामी त्यसलाई सामान्य ठान्छौँ । र एकदिन हामी यस्तो ठाउँमा पुग्छौँ, जहाँ अरूको पीडाले हाम्रो मनभित्र कुनै हलचल नै पैदा गर्दैन । त्यही दिन, सायद मानिसभित्रको मानिस अलिकति मर्छ । हामी सभ्य भएको दाबी गर्छौँ । हामी शिक्षित छौँ । आधुनिक छौँ । विकसित हुने सपना देखिरहेका छौँ । हामीसँग अग्ला भवन छन्, चौडा सडक छन्, चम्किला शहर छन् । तर सभ्यताको वास्तविक परीक्षा शहरको सौन्दर्यमा होइन, त्यहाँ सबैभन्दा कमजोर मानिससँग कस्तो व्यवहार गरिन्छ भन्नेमा हुन्छ । समाजमा सबैभन्दा शक्तिशाली मानिसको सम्मान हुनु कुनै ठुलो उपलब्धि होइन । शक्तिले आफैंमा सम्मान तान्ने सामर्थ्य राख्छ । तर एउटा समाजको वास्तविक चरित्र त्यसबेला देखिन्छ, जब उसले कमजोर, गरिब, असहाय र आवाजविहीन मानिसलाई कसरी हेर्छ । यदि गरिबको सम्मान उसको पुरानो कपडासँगै फाट्छ भने, यदि कमजोरको आवाज शक्तिशालीको उपस्थितिमै हराउँछ भने, यदि मानिसको मूल्य उसको चरित्रले होइन, सम्पत्ति र पहुँचले निर्धारण गर्छ भने हामीसँग विकासका जतिसुकै तथ्याङ्क भए पनि हाम्रो सभ्यताको एउटा महत्त्वपुर्ण पाना खाली नै रहन्छ । आज हामी मानिसलाई भेट्नुभन्दा पहिले उसको हैसियत भेट्छौँ । उसको नामभन्दा पहिले उसको पद सोध्छौँ । उसको मन बुझ्नुभन्दा पहिले उसको पहुँच मापन गर्छौँ ।
उसको चरित्रभन्दा पहिले उसको सम्पत्ति देख्छौँ । र जब मानिसभन्दा उसको हैसियत ठुलो हुन थाल्छ, तब मानवीय मर्यादा बिस्तारै किनारामा धकेलिन्छ । हाम्रो सम्बन्धहरूको संसार पनि परिवर्तन हुँदै गएको छ । सम्बन्धहरू छन्, तर सम्बन्धभित्रको न्यानोपन घट्दै गएको अनुभुति हुन्छ । हामीसँग सम्पर्कको सूची लामो छ, तर संकटको समयमा फोन गर्न सकिने मानिसको सुची सानो हुँदै जादैछ । आजकल मानिसलाई समय दिनुभन्दा प्रतिक्रिया दिन सजिलो छ । सहानुभुति व्यक्त गर्नुभन्दा एउटा ‘इमोजी’ पठाउन सजिलो छ । भेट्नुभन्दा सन्देश पठाउन सजिलो छ । र कहिलेकाहीँ हामीले सजिलो रोज्दै जाँदा मानिस हुनुको सबैभन्दा कठिन तर सुन्दर जिम्मेवारी अर्को मानिसको छेउमा उभिन बिर्सिरहेका हुन्छौँ । स्वार्थ आफैंमा नयाँ कुरा होइन । मानिससँग स्वार्थ सधैँ थियो । तर चिन्ताको विषय तब सुरु हुन्छ, जब स्वार्थले सम्बन्धलाई नै विस्थापित गर्न थाल्छ । जब मानिसलाई मानिसको रूपमा होइन, उपयोगिताको आधारमा हेर्न थालिन्छ । यसबाट मलाई के फाइदा हुन्छ ?
यो प्रश्न जीवनका धेरै निर्णयमा आवश्यक हुन सक्छ । तर जब यही प्रश्न हरेक सम्बन्धको केन्द्र बन्छ, तब प्रेम व्यापारजस्तो हुन्छ, मित्रता सम्झौताजस्तो हुन्छ र मानवता नाफा/नोक्सानको हिसाबमा हराउन थाल्छ । सायद आज मानवीयताको सबैभन्दा ठूलो शत्रु घृणा मात्र होइन, उदासीनता पनि हो । घृणा गर्ने मानिसले कम्तीमा अर्कोको अस्तित्वलाई स्वीकार गर्छ । उदासीन मानिस भने अर्कोको पीडा देखेर पनि भन्छ “मलाई के मतलब ?” यही “मलाई के मतलब ?” ले धेरै अन्यायलाई बलियो बनाएको छ । किनकि अन्याय सधैँ अत्याचारीको शक्तिले मात्र टिक्दैन । धेरैपटक अन्याय त्यसबेला दीर्घायु हुन्छ, जब त्यसलाई देख्ने मानिसहरू आफ्नो सुविधाजनक मौनतामा सुरक्षित बस्छन् । आज हाम्रो मौनता पनि एउटा प्रकारको सहभागिता बन्दै गएको छ । हामी अन्याय गर्दैनौँ, तर अन्यायका विरुद्ध बोल्दैनौँ । हामी कसैलाई अपमान गर्दैनौँ, तर अपमान भइरहेको दृश्य हेरेर बस्छौँ । हामी कसैलाई रुवाउँदैनौँ, तर रुँदै गरेको मानिसलाई एक्लै छोड्छौँ र आफूलाई निर्दोष ठान्छौँ । तर कहिलेकाहीँ निर्दोष हुनु मात्र पर्याप्त हुँदैन । मानवता बचाउन केही ठाउँमा असल हुनु पनि आवश्यक हुन्छ । हामी आफ्ना सन्तानलाई सफल हुन सिकाउँछौँ । यो स्वाभाविक हो । तर सफलता सिकाउने हाम्रो हतारमा कतै हामीले संवेदना सिकाउन बिर्सिरहेका त छैनौँ ? हामी भन्छौँ,पहिलो बन्नु, तर के हामी भन्छौँ पछाडि परेकोलाई हात पनि दिनु ? हामी भन्छौँ आफ्नो भविष्य बनाऊ, तर के हामी भन्छौँ अरूको भविष्य नबिगार ?
हामी भन्छौँ ठुलो मान्छे बन, तर शायद हामीले सबैभन्दा पहिले भन्नुपर्ने वाक्य यही हो, असल मानिस बन किनकि ठुलो पदमा पुगेको मानिसले समाजमा प्रभाव त पार्न सक्छ, तर ठूलो हृदय भएको मानिसले समाजको आत्मा बदल्न सक्छ । आजको संसारलाई प्रविधिमा दक्ष मानिस चाहिएको छ । तर त्यति नै आवश्यक संवेदनामा दक्ष मानिसको पनि हो । हामीलाई कृत्रिम बुद्धिमत्ता विकास गर्ने क्षमता चाहिएको छ, तर मानवीय बुद्धिमत्ता र करुणा जोगाउने चेतना पनि उत्तिकै चाहिएको छ ।
हामीलाई नयाँ सडक चाहिन्छ, तर त्यही सडकमा लडेको अपरिचितलाई उठाउने हात पनि चाहिन्छ । हामीलाई आधुनिक अस्पताल चाहिन्छ, तर बिरामीलाई बिरमी कै रूपमा हेर्ने मन पनि चाहिन्छ । हामीलाई उत्कृष्ट विद्यालय चाहिन्छ, तर त्यहाँ अंकसँगै आचरण र प्रतिस्पर्धासँगै करुणा पनि सिकाउनुपर्छ किनकि विकासका सबै संरचना अन्ततः मानिसकै लागि हुन् । यदि विकासको यात्रामा मानिसको सम्मान नै हरायो भने, हामीले गन्तव्य त भेटौँला, तर आफूलाई नै बाटोमै हराउनेछौँ । तर आशाको एउटा सानो दियो अझै निभेको छैन ।
मानिसभित्रको मानिस पूर्ण रूपमा हराएको छैन । ऊ अझै पनि बाटोमा अपरिचितलाई उठाउने हातमा बाँचेको छ । ऊ भोकै बसेर पनि आफ्नो थालको खाना बाँड्ने मानिसको मनमा बाँचेको छ । ऊ विपत्तिमा आफ्नो ज्यानको चिन्ता नगरी अरूको ज्यान बचाउन दौडिने साहसमा बाँचेको छ । ऊ अन्याय देख्दा डरका बाबजुद आवाज उठाउने मानिसको चेतनामा बाँचेको छ ।
ऊ कसैको आँसु पुछ्ने हातमा बाँचेको छ । ऊ अझै बाँचेको छ ।
तर ऊ कमजोर हुँदैछ । ऊ हाम्रो व्यस्ततामा दबिएको छ । ऊ हाम्रो स्वार्थमा थिचिएको छ । ऊ हाम्रो अहंकारभित्र थुनिएको छ । ऊ “मलाई के मतलब ?” भन्ने वाक्यको पछाडि कतै चुपचाप रोइरहेको छ । सायद हामीले उसलाई टाढा खोज्नु पर्दैन ।मानिसभित्रको मानिस हामीभित्रै हराउँदै छ । र उसलाई खोज्ने यात्रा पनि बाहिरबाट सुरु हुँदैन । त्यो यात्रा हामीले कसैलाई हेप्नुअघि एकपटक रोकिने क्षणबाट सुरु हुन्छ । कसैको पीडालाई बेवास्ता गर्नुअघि उसको ठाउँमा आफूलाई राखेर हेर्ने क्षणबाट सुरु हुन्छ । अन्याय देख्दा “मलाई के मतलब ?” भन्नुअघि “यदि यो ममाथि भएको भए ?” भनेर सोच्ने क्षणबाट सुरु हुन्छ ।
समाज परिवर्तनका ठुला भाषणभन्दा पहिले आफ्नो व्यवहार परिवर्तन गर्ने साहसबाट सुरु हुन्छ । किनकि समाज हामीभन्दा अलग कुनै वस्तु होइन । समाज भनेको हाम्रो सामुहिक व्यवहारको प्रतिबिम्ब हो । हामी जति असंवेदनशील हुन्छौँ, समाज त्यति कठोर बन्छ । हामी जति स्वार्थी हुन्छौँ, सम्बन्ध त्यति कमजोर बन्छन् । हामी जति मौन बस्छौँ, अन्याय त्यति निर्भीक बन्छ । र हामी जति मानिसलाई मानिसका रूपमा सम्मान गर्न सिक्छौँ, मानवता त्यति नै पुनर्जीवित हुन्छ ।
अन्ततः प्रश्न फेरि त्यहीँ फर्किन्छ मानिसभित्रको मानिस कहाँ हराउँदै छ ? सायद ऊ कतै टाढा गएको छैन । ऊ हाम्रो आँखाअगाडि कसैको अपमान हुँदा पनि हामीले रोजेको मौनतामा हराउँदै छ । ऊ आफ्नो स्वार्थका लागि अरूको आत्मसम्मान कुल्चिँदा हराउँदै छ । ऊ कमजोरको पीडालाई सामान्य ठान्दा हराउँदै छ । ऊ अरूको आँसुलाई समाचार र अरूको अपमानलाई मनोरञ्जन ठान्दा हराउँदै छ । तर जबसम्म कसैको पीडा देखेर हाम्रो मन भारी हुन्छ, जबसम्म अपरिचितको आँसुले पनि हाम्रो हृदय छुन्छ, जबसम्म अन्याय देख्दा हाम्रो अन्तरात्माले प्रश्न गर्न छोडेको छैन तबसम्म मानिसभित्रको मानिस पूर्ण रूपमा हराएको छैन । हामीले संसार बदल्न नसकौँला, तर कसैको संसार भत्किनबाट जोगाउन सक्छौँ । हामीले सबैको पीडा हटाउन नसकौँला, तर पीडामा रहेको कसैको छेउमा केही क्षण उभिन सक्छौँ । हामीले मानवताको ठूलो भाषण दिन नसकौँला, तर आफ्नो व्यवहारबाट एउटा सानो उदाहरण अवश्य दिन सक्छौँ । र सायद मानवता जोगाउने काम पनि कुनै विशाल घोषणाबाट होइन, यस्तै साना मानवीय क्षणहरूबाट सुरु हुन्छ । एकदिन यस्तो समय नआओस जहाँ शहरहरू उज्याला, तर मनहरू अँध्यारा होउन् । जहाँ घरहरू ठूला, तर हृदय साँघुरा होउन् । जहाँ प्रविधि अत्याधुनिक होस्, तर संवेदना पुरातन स्मृतिजस्तो बनोस् । जहाँ मानिसहरूको भीड त होस्, तर भीडभित्र खोज्दा पनि मानिसभित्रको मानिस कतै नभेटियोस ।

तपाईको प्रतिक्रिया