- बिचार : तीर्थराज बजगाई
बिचार : तीर्थराज बजगाई

नेपाली कांग्रेसभित्र अहिले देखिएको संघर्षलाई केवल शेरबहादुर देउवा र गगन थापा बीचको नेतृत्व प्रतिस्पर्धाका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यो पदको लडाई मात्र होइन; समय, संगठन र निर्णयमाथिको नियन्त्रणका लागि भइरहेको संघर्ष पनि हो ।
राजनीतिका सबै युद्ध प्रत्यक्ष भिडन्तबाट लडिँदैनन् । कतिपय प्रतिद्वन्द्वीलाई पराजित गर्न लगातार प्रहार गर्नुपर्दैन, उसलाई यति धेरै मोर्चामा व्यस्त राखिदिए पुग्छ कि ऊ आफ्नै शक्ति जोगाउनमै थाक्छ । निर्णय गर्नुपर्ने दबाब, असन्तुष्ट समुहको व्यवस्थापन र निरन्तर उठाइने प्रश्नबीच ऊ आफ्नो राजनीतिक एजेन्डाबाटै टाढिन थाल्छ । कांग्रेसभित्र गगन थापाप्रति देउवा पक्षको राजनीतिक व्यवहारलाई यही कोणबाट हेर्न सकिन्छ ।
देउवाको राजनीतिक शैली हतारको होइन । उनी तत्काल शक्ति परीक्षणमा जानेभन्दा समीकरणलाई समय दिन्छन् । विरोधी भित्रका मतभेद, संगठनभित्रको असन्तुष्टि र बदलिँदो परिस्थितिलाई हेर्छन् । राजनीतिको लामो यात्रामा उनले शक्ति केवल चुनावी प्रतिस्पर्धाबाट होइन, समय र समीकरणको व्यवस्थापनबाट पनि जोगाएका छन् । त्यसैले अहिले गगनसँग प्रत्यक्ष निर्णायक भिडन्तमा जानुभन्दा उनलाई पार्टीभित्रकै जटिलतामा अल्झाइराख्नु बढी उपयोगी हुन सक्छ । गगनको वास्तविक चुनौती पनि यही हो । उनले पार्टीलाई नयाँ दिशा दिनुपर्ने अपेक्षा छ । तर महाधिवेशनको प्रक्रिया, संगठनात्मक विवाद, नेतृत्वको वैधानिकतामाथि उठ्ने प्रश्न र विभिन्न शक्ति केन्द्रको असन्तुष्टि एकैसाथ व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा नेतृत्वको धेरै समय आफ्नै एजेन्डा लागु गर्नभन्दा पार्टीभित्रको आगो निभाउनमै खर्च हुन सक्छ र राजनीतिक रूपमा यही अवस्था सबैभन्दा खर्चिलो हुन्छ । पदमा हुनु र शक्ति प्रयोग गर्न सक्नु एउटै कुरा होइन । कुनै नेतासँग पद हुन सक्छ, तर उसको निर्णयमाथि अनेक शक्ति केन्द्रको नियन्त्रण हुन सक्छ । हरेक निर्णयअघि गुटको प्रतिक्रिया तौलनु पर्ने र हरेक कदमपछि असन्तुष्ट समूहलाई मनाउनुपर्ने अवस्थामा नेतृत्व क्रमशः स्वतन्त्र रहँदैन । गगनका लागि अहिलेको चुनौती देउवासँगको प्रतिस्पर्धाभन्दा पनि यस्तो परिस्थितिबाट आफूलाई मुक्त राख्नु हो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतामाथि अपेक्षा स्वाभाविक रूपमा बढी हुन्छ । गगनसँग जोडिएको अपेक्षा पनि परिवर्तन, गति र स्पष्ट निर्णयको हो । तर यही अपेक्षाले उनलाई दबाबमा राख्छ । ढिलो निर्णय गरे परिवर्तनको गति रोकिएको आरोप लाग्न सक्छ । सम्झौता गरे पुरानै राजनीतिक संस्कृतिमा फर्किएको प्रश्न उठ्न सक्छ । कठोर निर्णय गरे पार्टी एकताको जोखिम देखाइन्छ । अर्थात् उनी जुन बाटो रोजे पनि राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्थामा छन । यहीँ समयको भुमिका महत्वपुर्ण हुन्छ । गगनका लागि समय सीमित राजनीतिक पुँजी जस्तै हो । परिवर्तनको अपेक्षामा उदाएको नेतृत्व लामो समयसम्म विवाद र अनिर्णयमा रह्यो भने उसको राजनीतिक आकर्षण कमजोर हुन सक्छ । तर पुरानो संगठनात्मक संरचनामा प्रभाव कायम राखेका समुहका लागि परिवर्तनको गति सुस्त हुनु अनिवार्य रूपमा घाटा हुँदैन । त्यसैले कांग्रेसभित्रको अहिलेको संघर्षलाई ‘कसले कसलाई हराउँछ ?’ भन्नेभन्दा ‘कसले कसलाई कति लामो समयसम्म दबाबमा राख्न सक्छ ?’ भन्ने प्रश्नबाट पनि हेर्नु पर्ने हुन्छ । गगनलाई तत्काल पराजित गर्नु होइन, उनलाई स्वतन्त्र रूपमा निर्णायक नेतृत्व स्थापित गर्न नदिनु नै देउवा पक्षको रणनीति देखिन्छ । पार्टीभित्रका असन्तुष्टि र शक्ति केन्द्रलाई पूर्ण रूपमा निष्क्रिय हुन नदिनु, हरेक महत्त्वपुर्ण निर्णयलाई विवाद र वार्ताको विषय बनाइराख्नु र अन्ततः परिवर्तनको गति बोकेर आएको नेतृत्वलाई सम्झौताको चक्रमा तान्ने रणनीति सफल भयो भने गगनको सबैभन्दा ठुलो क्षति पद गुमाउनु हुनेछैन, नेतृत्वमा रहेर पनि निर्णायक नेता बन्न नसक्नुको हुनेछ । राजनीतिमा चुनाव हारेर पनि नेता फर्किन सक्छ । तर नेतृत्वले आफ्नो निर्णय क्षमता गुमाउँदै गयो भने उसको प्रभाव क्रमशः क्षीण हुन्छ । उसले पद जोगाइरहेको हुन्छ, तर राजनीतिक दिशा अरूले तय गर्न थाल्छन् । यही जोखिम गगनसामु स्पष्ट छ । उनले सबै पक्षलाई सन्तुष्ट पार्ने व्यवस्थापक बन्ने कि पार्टीलाई स्पष्ट दिशामा लैजाने नेता बन्ने ? पहिलो बाटो तत्कालका लागि सुरक्षित हुन सक्छ । तर, सबैलाई सन्तुष्ट पार्ने प्रयासमा नेतृत्वको धार हराउने खतरा हुन्छ । दोस्रो बाटो जोखिमपुर्ण छ, किनकि स्पष्ट निर्णयले असन्तुष्टि जन्माउँछ । तर राजनीतिक परिवर्तन प्रायः जोखिमबाटै सुरु हुन्छ । गगनको प्रतिस्पर्धा केवल देउवासँग होइन । उनको वास्तविक चुनौती त्यो राजनीतिक संस्कृतिसँग पनि हो, जहाँ निर्णयभन्दा समीकरणलाई प्राथमिकता दिइन्छ, परिवर्तनभन्दा गुटको सन्तुलन महत्वपुर्ण ठानिन्छ र असहमति समाधान गर्नुभन्दा त्यसलाई राजनीतिक सौदाबाजीका लागि जीवित राखिन्छ ।
यही कारण देउवा पक्षले गगन माथि प्रत्यक्ष राजनीतिक आक्रमण गरिरहेको छ कि छैन भन्नेभन्दा पनि एउटा प्रश्न बढी महत्वपूर्ण छ, के गगन आफ्नो राजनीतिक एजेन्डा लागु गर्ने भन्दा आन्तरिक विवाद व्यवस्थापनमै सीमित हुँदै गएका छन् ? यदि त्यसो हो भने देउवा पक्षलाई निर्णायक भिडन्त नै आवश्यक छैन । गगनको राजनीतिक ऊर्जा आन्तरिक संघर्षमै खर्च हुँदै जाँदा पुरानो शक्ति संरचनाले आफ्नो प्रभाव जोगाइरहन सक्छ । तर यो खेल एकतर्फी छैन । दबाबले नेताको कमजोरी मात्र उजागर गर्दैन; कहिलेकाहीँ त्यही दबाबले नेताको वास्तविक क्षमता पनि निर्माण गर्छ । गगनले अहिलेको परिस्थितिलाई केवल अवरोधका रूपमा नभई आफ्नो राजनीतिक परीक्षा र अवसरका रूपमा लिन सके भने यही संकट उनको नेतृत्व स्थापित गर्ने क्षण बन्न सक्छ । तर त्यसका लागि एउटा कुरा स्पष्ट हुनुपर्छ, नेतृत्व भनेको सबैलाई खुसी पार्नु होइन । नेतृत्व भनेको प्राथमिकता तय गर्नु र आवश्यक पर्दा त्यसको राजनीतिक मुल्य चुकाउन तयार हुनु हो । कांग्रेसभित्रको आगामी संघर्षको केन्द्र यही हुनेछ । देउवाको राजनीतिक शैलीले गगनलाई लामो समयसम्म दबाबमा राख्न सक्छ । विवाद लम्बिन सक्छ । शक्ति केन्द्रहरू सक्रिय रहन सक्छन् । सम्झौताका लागि दबाब बढ्न सक्छ । तर अन्ततः प्रश्न गगन माथि नै फर्केर आउँछ, के उनी दबाबभित्र आफ्नो राजनीतिक दिशा जोगाउन सक्छन् ? यदि सके भने अहिलेको संकट उनको राजनीतिक परिपक्वताको प्रमाण बन्न सक्छ । यदि सकेनन् भने नेतृत्वमा रहेर पनि उनी पुरानो शक्ति संरचनाको सीमाभित्रै बाँधिन सक्छन् । त्यसैले कांग्रेसभित्र अहिलेको वास्तविक खेल प्रत्यक्ष युद्धको होइन । यो समयको खेल हो, दबाबको खेल हो र सबैभन्दा बढी नेतृत्वको धैर्य र निर्णय क्षमताको खेल हो । देउवाको रणनीति गगनलाई एकै प्रहारमा हराउने नहुन सक्छ । बरु उनलाई यति धेरै राजनीतिक मोर्चामा व्यस्त राख्ने हुन सक्छ कि परिवर्तनको एजेन्डा नै बिस्तारै ओझेलमा परोस् । तर राजनीतिमा यही रणनीतिमा जोखिम पनि हुन्छ । कहिलेकाहीँ गलाउन खोजिएको नेता दबाबकै आगोमा खारिएर अझ बलियो भएर निस्कन्छ । अब कांग्रेसको राजनीतिले यही उत्तर खोजिरहेको छ, देउवाको रणनीतिले गगनलाई गलाउँछ, कि यही दबाबले उनलाई खारेर नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्छ ?

तपाईको प्रतिक्रिया