भ्यालेन्सिया, स्पेन । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी अकालमै ज्यान गुमाएका नेपाली नागरिकहरूको सम्झनामा स्पेनमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाल समाज भ्यालेन्सिया र नेपाली समाज कास्पेको संयुक्त आयोजनामा भएको कार्यक्रममा मातृभूमिमा प्राकृतिक विपत्तिका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।

प्रवासमा रहे पनि मातृभूमिमा आइपरेको दुःख र पीडाप्रति ऐक्यबद्धता जनाउँदै स्पेनको भ्यालेन्सिया तथा आसपासका क्षेत्रमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

कार्यक्रमको भ्यालेन्सिया पक्षको अध्यक्षता नेपाल समाज भ्यालेन्सियाका अध्यक्ष उमन तामाङ र कास्पे पक्षको अध्यक्षता नेपाली समाज कास्पेका अध्यक्ष लोचन साहले गर्नुभएको थियो। कार्यक्रमको संयोजन दुवै संस्थाका संस्थापक सुरज अधिकारीले गर्नुभएको थियो भने समूह प्रशासनको जिम्मेवारी प्रकाश भट्टले सम्हाल्नुभएको थियो।

कार्यक्रममा नेपाल समाज भ्यालेन्सियाका अध्यक्ष उमन तामाङले प्रवासमा रहे पनि नेपालीहरूको मन र भावना सधैँ मातृभूमिसँग जोडिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी भौगोलिक रूपमा नेपालभन्दा टाढा स्पेनमा भए पनि हाम्रो मन र भावना सधैँ मातृभूमिमै छ। बाढी–पहिरोका कारण भएको ठूलो मानवीय क्षतिको खबरले हामी प्रवासी नेपाली स्तब्ध भएका छौँ। दुःखको यस घडीमा ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।”

त्यस्तै, नेपाली समाज कास्पेका अध्यक्ष लोचन साहले प्राकृतिक विपत्ति मानवको नियन्त्रणभन्दा बाहिर भए पनि संकटका बेला पीडितको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस्तो दुःखद् घडीमा सम्पूर्ण नेपाली समुदाय एकजुट हुनुपर्छ। शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हामी स्पेनबाट गहिरो समवेदना प्रकट गर्दछौँ।”

कार्यक्रम संयोजक तथा संस्थापक सुरज अधिकारीले ‘दुःखमा साथ, सधैँ साथ’ भन्ने भावनाका साथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “मातृभूमिलाई परेको विपत्तिमा प्रवासमा बस्ने नेपालीहरू मूकदर्शक बनेर बस्न सक्दैनौँ। हाम्रो यो सानो ऐक्यबद्धताले भए पनि पीडित परिवारमा केही सान्त्वना मिल्ने विश्वास लिएका छौँ। आगामी दिनमा पनि मातृभूमिको हितका लागि हामी सधैँ तत्पर रहनेछौँ।”

‘एकता, सहयोग र समृद्ध नेपाल हाम्रो लक्ष्य’ भन्ने मूल भावनाका साथ सम्पन्न कार्यक्रममा सहभागी नेपालीहरूले प्रवासमा रहे पनि मातृभूमिको सुख–दुःखमा सँगै रहेको सन्देश दिएका थिए।

कार्यक्रमले प्राकृतिक विपत्तिबाट पीडित नेपालीप्रति प्रवासी समुदायको मानवीय संवेदना, सामाजिक एकता र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको आयोजकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया