
सुनसरी । विघ्नहर्ता, सिद्धिदाता तथा अग्रपूजाका देवता भगवान् गणेशको पूजाआराधना गर्दै सुनसरीका विभिन्न स्थानमा गणेश चतुर्थी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइएको छ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीलाई भगवान् गणेशको जन्मोत्सवका रूपमा लिने धार्मिक मान्यता छ। सत्ययुगमा यही तिथिमा भगवान् गणेशको जन्म भएको शास्त्रीय विश्वासअनुसार हिन्दू धर्मावलम्बीले यस दिन गणेशको विशेष पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा जीवनमा आउने विघ्न–बाधा हटोस् भन्ने कामना गर्ने गर्छन्।
सुनसरीको धरान, इटहरी, इनरुवा, खनार तथा दुहबी लगायतका क्षेत्रमा रहेका गणेश मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल देखिएको थियो। भक्तजनले विधिपूर्वक गणेशको पूजा गर्दै प्रसाद तथा फलफूल अर्पण गरेका थिए।
यसैबीच इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश मन्दिरमा पनि विशेष पूजाआजा तथा धार्मिक कार्यक्रमसहित गणेश चतुर्थी मनाइएको छ। पूजामा स्थानीय बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा सर्वसाधारण भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।
स्थानीयवासीको सहयोगमा करिब दुई दशकअघि निर्माण गरिएको उक्त मन्दिरमा हरेक वर्ष गणेश चतुर्थी विशेष उत्साह र भक्तिभावका साथ मनाउँदै आइएको छ। मन्दिरमा गणेश चतुर्थीका अवसरमा हुने विशेष पूजाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ।
धार्मिक मान्यताअनुसार भगवान् गणेशलाई जुनसुकै शुभकार्य तथा धार्मिक कर्मअघि अग्रपूजा गरिन्छ। भगवान् शिव र माता पार्वतीका पुत्र गणेशलाई बुद्धि, सिद्धि, समृद्धि र शुभकार्यका देवताका रूपमा समेत पूजा गर्ने गरिन्छ।
हरितालिका तीजको व्रतपछि गणेश चतुर्थीमा गणेशको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। भक्तजनले पारिवारिक सुख–शान्ति, समृद्धि र जीवनमा कुनै पनि प्रकारका विघ्न–बाधा नआओस्





