
इटहरी । सुनसरीको इटहरी–खनार क्षेत्रमा पछिल्लो समय लागूऔषध गाजाको ओसारपसार तथा लुकाएर राख्ने गतिविधि बढेको देखिएको छ। प्रहरीले पछिल्ला घटनामा गाजासहित मानिस पक्राउ गर्नुका साथै घरमा लुकाएर राखिएको अवस्थामा समेत गाजा बरामद गर्न थालेपछि खनार क्षेत्र लागूऔषध कारोबारको संवेदनशील क्षेत्रका रूपमा देखिन थालेको छ।
पछिल्लो घटनामा खनारबाट प्रहरीले दुई जनालाई गाजासहित पक्राउ गरेको छ। रातो रंगको टेम्पोमा एक झोला गाजा लिएर जाँदै गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट बरामद भएको गाजाको परिमाण तथा पक्राउ परेकाहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यस्तै, खनार नजिकैको मधेलीस्थित स्थानीय श्रवण मालाकारको घरमा प्रहरीले खानतलासी गर्दा करिब एक किलो गाजा गाडिएको अवस्थामा फेला पारेको जनाएको छ। घरमै गाजा लुकाएर राखिएको भेटिएपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरूको खोजी तथा कारोबारको नेटवर्कबारे अनुसन्धान अघि बढाएको छ।
खनार क्षेत्रमा गाजासम्बन्धी यी घटनासँगै इटहरीमा लागूऔषध कारोबारको स्वरूप पनि चिन्ताको विषय बनेको छ। यस्तै , इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको थियो। त्यस्तै, इटहरी–१० डुमटाबाट ८० क्याप्सुल ट्रामाडोल र ४० ट्याब्लेट डाइसाइक्लोमिनसहित २४ वर्षीय आशिष सरदार पक्राउ परेका थिए।
यी घटनाले इटहरी तथा खनार क्षेत्रमा लागूऔषधको ओसारपसार र बिक्रीवितरण नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको देखाउँछ। विशेषगरी ग्रामीण तथा बस्ती क्षेत्रबाट गाजा संकलन गरी सवारीसाधनमार्फत अन्य स्थानमा लैजाने तथा घरमा लुकाएर राख्ने प्रवृत्ति देखिन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सूचना संकलन, शंकास्पद सवारीसाधन तथा व्यक्तिमाथि निगरानी र खानतलासीलाई तीव्रता दिएको जनाएको छ। तर, पक्राउ र बरामदमा मात्र सीमित नभई गाजा कहाँबाट ल्याइन्छ, कसले लगानी गर्छ र यसको अन्तिम गन्तव्य कहाँ हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ।
खनार क्षेत्र पूर्व–पश्चिम आवागमनको महत्वपूर्ण स्थान भएकाले पनि लागूऔषध ओसारपसार गर्ने समूहले यसको भौगोलिक अवस्थालाई प्रयोग गर्न सक्ने प्रहरीको आशंका छ। पछिल्ला बरामद घटनाले स्थानीय स्तरमै लागूऔषध लुकाउने र ओसारपसार गर्ने सञ्जाल सक्रिय हुन सक्ने संकेत गरेको छ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने बताउँदै स्थानीय बासिन्दालाई पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेको छ। खनारमा लगातार देखिन थालेका यस्ता घटनाले लागूऔषध नियन्त्रणका लागि प्रहरीसँगै स्थानीय समुदाय, विद्यालय, अभिभावक र स्थानीय तहबीच समन्वय आवश्यक देखाएको छ।





