इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित अरिहन्त अटो कोरुगेशन लिमिटेड फेरि एकपटक वातावरणीय प्रदूषण र सार्वजनिक पैनी अतिक्रमणको आरोपका कारण विवादमा तानिएको छ। स्थानीयको निरन्तर गुनासोपछि सुनसरी–३ का सांसद अशोक चौधरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीसहितको टोलीले उद्योग क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
स्थानीय बासिन्दाका अनुसार उद्योगबाट लामो समयदेखि निस्कने धुवाँ, धुलो तथा औद्योगिक फोहोरपानीका कारण आसपासका बस्तीका सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। उनीहरूका अनुसार प्रदूषणका कारण स्वास्थ्यमा असर परेको, खेतीयोग्य जमिनमा समेत प्रभाव परेको र दैनिक जीवन कष्टकर बनेको छ। पटक–पटक उद्योग, स्थानीय तह र सम्बन्धित सरकारी निकायमा गुनासो गर्दा पनि प्रभावकारी सुनुवाइ नभएपछि अन्ततः सांसदलाई गुहार्नुपरेको स्थानीयको भनाइ छ।
अनुगमनका क्रममा स्थानीयले उद्योगले सार्वजनिक पैनी मिचेर गोदाम तथा अन्य संरचना निर्माण गरेको दाबी गरेका छन्। उक्त दाबीपछि पैनीको वास्तविक अवस्था, जग्गाको सीमाङ्कन तथा निर्माणको वैधानिकताबारे सम्बन्धित निकायले अध्ययन सुरु गरेको अनुगमन टोलीका इन्जिनियर ईश्वर तामाङले जनाएको छ।
फलामे तार, काँटी, कार्टुन तथा अन्य औद्योगिक सामग्री उत्पादन गर्दै आएको यस उद्योग विगतमा पनि वातावरणीय प्रदूषण, फोहोर व्यवस्थापन र स्थानीयसँगको विवादका विषयमा पटक–पटक समाचारमा आएको थियो। त्यसबेला पनि उद्योगबाट निस्कने धुवाँ र फोहोर व्यवस्थापनमा सुधार गर्न स्थानीयले माग गरेका थिए। यद्यपि स्थानीयका अनुसार समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन।
यसपटक सार्वजनिक पैनी अतिक्रमणको विषयसमेत जोडिएपछि विवाद थप गम्भीर बनेको छ। सार्वजनिक जलनिकास तथा पैनी अतिक्रमणले वर्षायाममा डुबानको जोखिम बढ्ने र सरकारी सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना हुने भएकाले सरोकारवाला निकायले यसलाई गम्भीर रूपमा लिनुपर्ने स्थानीयको माग छ।
अनुगमनमा सहभागी अधिकारीहरूले स्थानीयका गुनासा, उद्योग पक्षको भनाइ र प्राविधिक प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन, प्रदूषण नियन्त्रणका उपाय तथा सार्वजनिक जग्गा अतिक्रमण भएको वा नभएको विषयमा सम्बन्धित निकायले थप छानबिन गर्ने जनाइएको छ।





