सुनसरी । खनार ब्याडमिन्टन क्लबको प्रथम साधारण सभा शनिबार खनारमा सम्पन्न भएको छ। ब्याडमिन्टन खेलको विकाससँगै वर्षौंदेखि सुस्त गतिमा अघि बढिरहेको निर्माणाधीन कबर्ड हललाई व्यवस्थित र शीघ्र सम्पन्न गर्ने उद्देश्यले एक वर्षअघि गठन गरिएको तदर्थ समितिको आयोजनामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीले खनार ब्याडमिन्टन खेलको नयाँ युगमा प्रवेश गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो। मनोरञ्जनका साथै शारीरिक तथा मानसिक स्वास्थ्यका लागि समेत ब्याडमिन्टन महत्वपूर्ण खेल भएको उल्लेख गर्दै उहाँले खेलकुदप्रति युवाहरूले देखाएको सक्रियता सकारात्मक रहेको बताउनुभयो। क्लबको पूर्वाधार निर्माण र खेलकुद विकासका लागि प्रदेश सरकारको तर्फबाट आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, इटहरी उपमहानगरपालिका–१२ का वडाध्यक्ष भुवनराज पोखरेलले साविक खनार गाविस क्षेत्रलाई समेट्ने गरी युवाहरूले खेलकुद क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। ब्याडमिन्टनलाई सीमित वर्गमा मात्र नभई समाजका सबै तह र समुदायका युवासम्म पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। कबर्ड हल निर्माणमा वडा नम्बर १२ ले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै बाँकी निर्माण कार्य सम्पन्न गर्न समेत आवश्यक सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो।
इटहरी–११ का वडाध्यक्ष केशव कोइरालाले ब्याडमिन्टन पछिल्लो समय पूर्वकर्मचारी, प्रहरी, व्यवसायी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूमाझ लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यसलाई समाजका सबै वर्गसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। क्लबलाई विगतमा समेत सहयोग गरेको स्मरण गर्दै उहाँले निर्माणाधीन कबर्ड हल सम्पन्न गर्न वडा कार्यालयका तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो।
इटहरी–१२ का निवर्तमान वडाध्यक्ष हेमानन्द दाहालले आफू वडाध्यक्ष रहँदा सुरु भएको ब्याडमिन्टन पूर्वाधार अहिले मूर्त रूप लिँदै गएको देख्दा खुसी लागेको बताउनुभयो। आफ्नो पाँचवर्षे कार्यकालमा खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले क्लबको निरन्तर प्रगतिका लागि शुभकामना दिनुभयो।
साधारण सभामा क्लबका कोषाध्यक्ष श्याम कालिकोटेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदन सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
क्लबका अध्यक्ष पुष्पनारायण चौधरीका अनुसार निर्माणाधीन कबर्ड हलमा हालसम्म करिब ४० लाख रुपैयाँ खर्च भइसकेको छ। हललाई पूर्ण रूपमा व्यवस्थित बनाउन शौचालय, खानेपानी, विद्युत् लगायतका आवश्यक पूर्वाधार निर्माणका लागि थप करिब ४० लाख रुपैयाँ आवश्यक रहेको उहाँले बताउनुभयो। त्यस्तै क्लबका सचिव शेषक थानदारले क्लबको विभिन्न गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो।
स्थानीय उद्योगी–व्यवसायी, विभिन्न वडा तथा इटहरी उपमहानगरपालिका, स्थानीय खेलप्रेमी तथा शुभेच्छुकहरूको आर्थिक सहयोगबाट कबर्ड हल निर्माणको काम अघि बढिरहेको क्लबले जनाएको छ।
यसैबीच, प्रथम साधारण सभाले तदर्थ समितिका अध्यक्ष पुष्पनारायण चौधरीकै नेतृत्वमा रहेको ११ सदस्यीय तदर्थ कार्यसमितिलाई आगामी तीन वर्षका लागि क्लबको कार्यसमितिका रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिले आगामी तीन वर्षमा निर्माणाधीन कबर्ड हललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने, इटहरी, खनार, दुहबी लगायत आसपासका क्षेत्रका खेलाडीलाई एउटै छातामुनि आबद्ध गर्ने तथा नयाँ पुस्ताका खेलप्रेमी युवालाई ब्याडमिन्टनतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ।
क्लबले पूर्वाधार निर्माणसँगै नियमित प्रशिक्षण, प्रतियोगिता तथा खेलाडी उत्पादनमा समेत जोड दिने जनाएको छ। स्थानीय स्तरबाट सुरु भएको यो अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन सके खनारलाई ब्याडमिन्टनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।





