
इटहरी । इटहरीमा शनिबार एकदिने साहित्य उत्सव आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टको आयोजनामा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रमबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमालसहित ६ जना चर्चित लेखक सहभागी हुनेछन्।
कार्यक्रममा महानायक हमालको पुस्तक ‘युगदेखि युगसम्म’ केन्द्रमा रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गर्नेछन्। त्यसैगरी, २०८१ सालको मदन पुरस्कार विजेता कृति ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गर्नेछन्।
यस्तै, २०८१ पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले सहजीकरण गर्नेछन्। डा. नवराज केसीको पुस्तक ‘स्वस्पर्श’ माथि नाट्यकर्मी सोनु जयन्तीले अन्तरक्रिया सञ्चालन गर्नेछन्।
यसैगरी, ददि सापकोटाको पुस्तक ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गर्नेछन् भने लेखक सुबिन भट्टराईका चर्चित कृतिहरू ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले संवाद गर्नेछन्।
पुस्तक अन्तरक्रियाअघि ११ जना कविहरूले कविता वाचन गर्ने कार्यक्रमसमेत तय गरिएको फाइनप्रिन्टका सञ्चालक नीरज भारीले जानकारी दिए। उनका अनुसार यस कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धन गर्नुका साथै साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ।
काव्य डबली र शब्द प्रवाहको सहकार्यमा आयोजना हुन लागेको उक्त ‘फाइनप्रिन्ट फिभर’ कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।





