इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार क्षेत्रमा सर्वसाधारणलाई आराम र बस्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले फलाईचा (चौतारी) राख्ने अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत आज पहिलो चरणमा ४ वटा फलाईचा स्थापना गरिएको छ।
स्थापित फलाईचामध्ये २ वटा खनार प्रहरी चौकी अगाडि तथा २ वटा खनार हाटबजार क्षेत्रमा राखिएको स्थानीयवासीले बताएका छन्। अभियानको दोस्रो चरणअन्तर्गत आज थप १४ वटा फलाईचा राख्ने तयारी गरिएको छ। यससँगै खनार क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा जम्मा १८ वटा फलाईचा स्थापना हुने भएको छ।
स्थानीय समाजसेवी सुरेन्द्र चौधरी को पहल तथा सहयोगमा सञ्चालन भइरहेको यस अभियानलाई “आमाको सम्झनामा १८ चौतारी” नाम दिइएको छ। सार्वजनिक स्थलमा विश्रामस्थल निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानले स्थानीयवासी, ज्येष्ठ नागरिक तथा यात्रुहरूलाई प्रत्यक्ष सुविधा पुग्ने अपेक्षा गरिएको छ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोखरेलले फलाईचा स्थापनाले खनार क्षेत्रको सौन्दर्य वृद्धि हुनुका साथै सामाजिक सद्भाव र सार्वजनिक सेवामुखी कार्यप्रति सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो !






