
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रैहिपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा बाबु–छोरा नै ब्राउनसुगरसहित पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय सितल चौधरीको घरमा खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले ३ दशमलव ४८ ग्राम ब्राउनसुगर बरामद गरेपछि सितल चौधरी र उनका २३ वर्षीय छोरा शुसान्त चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु १ थान, को २३ प ६४१८ र मे १ प ३९९५ नम्बरका दुई वटा मोटरसाइकल, नगद ८१ हजार ३४० रुपैयाँ तथा दुई थान मोबाइल बरामद गरिएको छ।
हाल दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पछिल्लो समय इटहरी तथा आसपासका क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको पनि बताइएको छ।





