रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी स्रोतका अनुसार चौधरीको उम्मेदवारी सुनिश्चित भइसकेको छ । टिकट निश्चित भएसँगै उनले निर्वाचन क्षेत्रभित्र जनसम्पर्क, भेटघाट तथा राजनीतिक गतिविधिलाई तीव्र बनाएकी छन् । स्थानीय कार्यकर्ता, अगुवा नेता र शुभेच्छुकहरूसँग निरन्तर छलफल गर्दै उनी चुनावी माहोल निर्माणमा सक्रिय देखिएकी छन् ।
तत्कालीन माओवादी जनयुद्धकालदेखि नै पार्टी संगठनमा सक्रिय रहँदै आएकी चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वमार्फत सांसद निर्वाचित भएकी थिइन् । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा २०७५ सालदेखि कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै करिब २० महिना काम गरेकी थिइन् ।
नेकपा विभाजनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रमा रहेकी चौधरी संसदीय दलको सचेतकको भूमिकामा समेत सक्रिय रहिन् । हाल उनी प्रचण्ड नेतृत्वको नेकपाको केन्द्रीय सदस्यका रूपमा पार्टी नीति, संगठन विस्तार र राजनीतिक गतिविधिमा संलग्न छन् ।
लामो राजनीतिक अनुभव, सरकार सञ्चालनको जिम्मेवारी र संगठनमा गहिरो पकडका कारण चौधरीको उम्मेदवारीले सुनसरी–२ को निर्वाचन प्रतिस्पर्धा थप रोचक बन्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

तपाईको प्रतिक्रिया