सुनसरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका–१२ स्थित चतरा मूल नहरमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। खनार चौकदेखि करिब दुई सय मिटर पश्चिमतर्फ निर्माण हुन लागेको उक्त पुलले खनार स्वास्थ्य चौकीअगाडिको दक्षिणी बस्तीलाई प्रत्यक्ष रूपमा जोड्नेछ।

पूर्वाधार विकास कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पुल निर्माणका लागि आवश्यक करिब १५ लाख रुपैयाँ बराबरको फलामे संरचना तथा सामग्री खरिद गरिसकिएको छ। आगामी आर्थिक वर्षका लागि थप १२ लाख रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ। उक्त बजेटबाट नहरको दुवैतर्फ पक्की ढलानसहित फाउण्डेसन निर्माण गरिनेछ भने त्यसपछि जडान कार्य सम्पन्न गरी आगामी तीन महिनाभित्र पुल निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।

गत आर्थिक वर्षमै पुल निर्माणका लागि बजेट विनियोजन भए पनि इटहरी उपमहानगरपालिकाले साझेदारीमा उपलब्ध गराउने भनिएको १० लाख रुपैयाँ सुनिश्चित हुन नसक्दा योजना अघि बढ्न सकेको थिएन। यस वर्ष भने कोशी प्रदेश सरकारकै पूर्ण लगानीमा योजना कार्यान्वयनमा ल्याइएको हो।

स्थानीय सडक पुल निर्माण सहयोग इकाइ, कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीको निरन्तर पहल र सक्रियताका कारण लामो समयदेखि चर्चामा रहेको योजना कार्यान्वयन चरणमा पुगेको स्थानीयवासी बताउँछन्। स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चौधरीले विगत दश वर्षदेखि प्रदेश सरकारको साझेदारीमा विभिन्न स्थानमा साना तथा रणनीतिक पुल निर्माण योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

स्थानीयवासी भरत शाहका अनुसार पुल निर्माणपछि दक्षिणी बस्तीका सर्वसाधारणलाई आवतजावतमा सहजता हुनुका साथै खनार स्वास्थ्य चौकी पुग्न बिरामी, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई विशेष राहत पुग्नेछ। हाल स्थानीयवासीले नहर पार गर्न लामो दुरी प्रयोग गर्दै आएका छन्।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ग्रामीण तथा सहरी क्षेत्रलाई जोड्ने साना पुल, झोलुङ्गे पुल तथा सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लामा दर्जनौं योजना अघि बढाएको जनाएको छ। प्रदेश सरकारले यस्ता योजनाले स्थानीय नागरिकको दैनिकी सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको पहुँच विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया