सुनसरी – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।
एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धीचाल र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए । गत बर्षदेखी सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।
इटहरीमा हुने पांच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ । स्पोर्टस मिट अन्तर्गत फुटबल धरान र इटहरी रंगशालामा, क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल माबि इटहरीमा हुने संयोजक भण्डारीले बताए । यस्तै टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रंगशालामा खेलाइने र हिसान हाजिरी जवाफ र बास्केटबल इटहरीस्थित सुष्मा स्कूललमा खेलाइने कार्यक्रमका सहसंयोजक सुवास लुईटेलले बताए ।
हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरीका ६ हजार ६ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने र ६ हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया