
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। ब्राह्मण समाज नेपाल इटहरी उपमहानगरपालिका वडा नम्बर १२ कार्यसमितिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा असार १५ को सांस्कृतिक तथा कृषि महत्वबारे चर्चा गरिएको थियो। औपचारिक कार्यक्रमपछि खनार क्षेत्रमा सामूहिक धान रोपाइँ गरिएको थियो। पञ्चेबाजा, स्थानीय संस्कृति तथा सर्वसाधारणको उत्साहजनक सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रममा महिला, पुरुष, विभिन्न संघसंस्था तथा स्थानीय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका विशेष अतिथि कोशी प्रदेशसभा सदस्य रोहित बहादुर कार्कीले पछिल्लो समय आधुनिक कृषि प्रविधिको प्रयोगका कारण धान उत्पादनमा वृद्धि हुँदै गएको बताउनुभयो। उहाँले उत्पादन वृद्धि सकारात्मक भए पनि किसानलाई समयमा सिँचाइ, गुणस्तरीय बीउ तथा उत्पादनको उचित बजारीकरण सुनिश्चित गर्न नसकेसम्म कृषि क्षेत्र पूर्ण रूपमा आत्मनिर्भर बन्न नसक्ने धारणा राख्नुभयो।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेम कर्ण पौडेलले इटहरी उपमहानगरपालिकाले किसानलाई व्यवस्थित र दीर्घकालीन रूपमा सहयोग गर्न नगर क्षेत्रभित्रका किसानहरूको सूचीकृत तथा तथ्यांक संकलन सुरु गरेको जानकारी दिनुभयो। उहाँले आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानको आय वृद्धि गर्ने लक्ष्यका साथ स्थानीय सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो।
कार्यक्रममा खनार क्षेत्रका दुई अग्रणी किसानलाई सम्मान समेत गरिएको थियो। व्यवसायिक रूपमा गाईपालन तथा दुग्ध उत्पादन गर्दै आएका अगुवा किसान ईश्वरी लुइटेल र राजकुमार थापालाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा नगरप्रमुख पौडेलले दुवै किसानलाई जनही १० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्ने घोषणा समेत गर्नुभयो।
ब्राह्मण समाज खनारका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले असार १५ को अवसरमा आयोजना हुने यस्तो कार्यक्रम हरेक वर्ष निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार कृषि संस्कृतिको संरक्षण, किसानको सम्मान र युवापुस्तालाई खेतीप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सुनसरीमा धान खेतीको अवस्था
धान उत्पादनका हिसाबले सुनसरी जिल्ला कोशी प्रदेशकै महत्वपूर्ण कृषि जिल्लामध्ये एक मानिन्छ। जिल्लामा वर्षेनी हजारौं हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। इटहरी, दुहबी, भोक्राहा, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र तथा इनरुवा आसपासका क्षेत्र धान उत्पादनका मुख्य क्षेत्रका रूपमा परिचित छन्।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा अधिकांश किसानले चैते र वर्षे धान खेती गर्दै आएका छन्। पछिल्लो समय हाइब्रिड तथा उन्नत जातका बीउ प्रयोग बढ्दै जाँदा उत्पादन दरमा सुधार आएको छ। यद्यपि सिँचाइको अभाव, रासायनिक मलको अनियमित आपूर्ति, कृषि मजदुरको कमी तथा उत्पादनको उचित मूल्य नपाउने समस्या अझै कायम रहेको किसानहरूको गुनासो छ।
सुनसरीमा विशेषगरी मनसुनमा निर्भर खेती हुने भएकाले समयमा पानी नपर्दा रोपाइँ प्रभावित हुने गरेको छ। कतिपय क्षेत्रमा नहर तथा सिँचाइ संरचना भए पनि नियमित मर्मत अभावमा किसानले पर्याप्त सुविधा पाउन सकेका छैनन्। कृषकहरूले उत्पादन लागत बढ्दै गएको तर बजार मूल्य स्थिर नरहेको समस्या पनि उठाउँदै आएका छन्।






