
इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित प्रहरी चौकी आसपास भएर बग्ने पानी अत्यधिक कालो तथा दुर्गन्धयुक्त बनेपछि स्थानीय बासिन्दामा स्वास्थ्य चिन्ता बढेको छ। मानव बस्ती नजिकै फैलिएको प्रदूषणका कारण वातावरण दूषित बनेको भन्दै स्थानीयले गुनासो गरेपछि वडा कार्यालयले उद्योग क्षेत्रमा अनुगमन सुरु गरेको छ।
वडा कार्यालयका अनुसार कार्यवाहक वडा अध्यक्ष, वडा कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागितामा दुई दिने स्थलगत अनुगमन कार्यक्रम सञ्चालन गरिएको हो। अनुगमन टोलीले एभरेस्ट सोल्भेन्ट फ्याक्ट्री, जेएनबी एपरेल, अरिहन्त कर्पोरेसन (जुस उद्योग) तथा पल्स फेसन उद्योगमा पुगेर फोहोर पानी व्यवस्थापन, ढल निकास, प्रशोधन प्रणाली (ईटीपी) तथा वातावरणीय मापदण्डको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ।
स्थानीयवासीले उद्योगबाट निस्कने फोहोर पानीका कारण नाला तथा पानीको बहाव क्षेत्र कालो बनेको, दुर्गन्ध फैलिएको तथा जनस्वास्थ्यमा असर पर्न थालेको बताएका छन्। विशेषगरी बिहान र साँझको समयमा दुर्गन्ध बढ्ने गरेको इटहरी उपमहानगरपालिका वडा नं १२ का स्थानीय अग्नी फुयालले गुनासो गर्नुभयो। ।
उद्योगबाट निस्कने सम्भावित केमिकलयुक्त फोहोर
सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका सोल्भेन्ट, कपडा, खाद्य तथा प्रशोधन उद्योगबाट विभिन्न प्रकारका रासायनिक फोहोर पानी निस्कने सम्भावना रहने वातावरणविद्हरू बताउँछन्।
सोल्भेन्ट उद्योगबाट तेल, ग्रीस, अमोनिया तथा उच्च रासायनिक प्रदूषणयुक्त पानी निस्कने सम्भावना रहन्छ भने गार्मेन्ट तथा फेसन उद्योगबाट डाइ केमिकल, एसिड, ब्लीचिङ पदार्थ तथा माइक्रोफाइबर मिसिएको पानी निस्कन सक्छ। यस्तै जुस तथा खाद्य उद्योगबाट जैविक फोहोर, चिनीजन्य पदार्थ तथा कुहिने तत्व मिसिएको पानी बाहिरिने गरेको जानकारहरू बताउँछन्।
यस्ता फोहोर पानीले पानीको गुणस्तर बिगार्नुका साथै दुर्गन्ध फैलाउने, जलचर नष्ट गर्ने तथा मानव स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउने जोखिम रहने बताइएको छ।
“अनुगमन मात्रै होइन, समाधान चाहियो”
स्थानीय बासिन्दाले वर्षौंदेखि उद्योगजन्य प्रदूषणको समस्या दोहोरिँदै आएको बताएका छन्। उनीहरूका अनुसार जनप्रतिनिधि, नगरपालिका र सम्बन्धित निकायले पटक–पटक अनुगमन गरे पनि दीर्घकालीन समाधान भने हुन सकेको छैन।
कतिपय उद्योगले रातिको समयमा प्रशोधन नगरी सिधै फोहोर पानी नालामा मिसाउने गरेको स्थानीयको आशंका छ। वर्षायाममा प्रदूषणको मात्रा अझ बढ्ने गरेको उनीहरूको भनाइ छ।
वडा कार्यालयले वातावरण संरक्षण र स्थानीयको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्रदूषण नियन्त्रणका लागि आवश्यक सुधार गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिइएको जनाएको छ। साथै आगामी दिनमा पनि निरन्तर अनुगमनलाई थप प्रभावकारी बनाइने र वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का कार्यवाहक वडाध्यक्ष सन्यासकुमार शाहले जानकारी दिएको छ।





