
धरान : सुनसरीको धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन क्षेत्रमा आइतबार दिउँसो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २७ वर्षीय जीवन भुजेल रहेका छन्। उनीमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छुरा प्रहारबाट उनको दायाँ कुममा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएका भुजेलको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





