
इटहरी — नेपालका तीन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
अनुसन्धानकै क्रममा पूर्व ऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का लाई आइतबार बिहान नियन्त्रणमा लिइएको छ। उनीमाथि सोही प्रकरणमा अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी हिरासतमा राख्ने तयारी गरिएको छ।
प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल तथा अचल सम्पत्ति, आम्दानीका स्रोत र वित्तीय कारोबारबारे विस्तृत अनुसन्धान गर्ने जनाएको छ।
गत भदौ २४ गते भएको आगजनी घटनापछि देउवा र दाहालको निवासबाट जलेको अवस्थामा नेपाली रुपैयाँ तथा अमेरिकी डलरका टुक्रा फेला परेको थियो। सोही घटनासँग सम्बन्धित रूपमा पूर्वमन्त्री खड्काको घरबाट पनि जलेको रकम भेटिएको बताइएको छ। उक्त रकम सम्बन्धित निकायले संकलन गरी सुरक्षित राखेको छ।
अनुसन्धानलाई असर नपरोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौं ले बुढानीलकण्ठ स्थित देउवाको निवास भत्काउन रोक लगाएको छ। प्रहरीले भत्काउने कार्य रोकेर त्यहाँ कार्यरत मजदुर हटाएको जनाएको छ।
यस प्रकरणले उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि छानबिन सुरु भएपछि देशको राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।




