
सुनसरी, — तीव्र शहरीकरण र बसोबास विस्तारका कारण परम्परागत पहिचान ओझेलमा पर्दै गइरहेका बेला थारु समुदायको भाषा, संस्कृति र जीवनशैली संरक्षण गर्ने उद्देश्यले इटहरी–११ भुस्कलुवामा सामुदायिक होमस्टे निर्माणको शिलान्यास गरिएको छ। स्थानीय तहको सक्रियतामा अघि बढाइएको यो पहललाई थारु संस्कृतिको दीर्घकालीन संरक्षण र पर्यटन प्रवर्द्धनको ऐतिहासिक सुरुआतका रूपमा हेरिएको छ।
शिलान्यास कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिका की उपप्रमुख संगिता चौधरीले गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक होमस्टे स्थानीय संस्कृति जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने प्रभावकारी माध्यम हुने बताउनुभयो। “परम्परागत पहिचानलाई जीवन्त राख्दै आर्थिक अवसर सिर्जना गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।
निर्माणाधीन ‘मेजवान सामुदायिक होमस्टे, मुस्कलुवा’ मार्फत आगन्तुकले थारु समुदायको मौलिक खानपान, रहनसहन, भेषभूषा, कला र सांस्कृतिक प्रस्तुतिहरू प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा सरोकारवालाले यस पहलले रोजगारी सिर्जना गर्नुका साथै युवापुस्तामा आफ्नै संस्कृतिप्रति गर्व र अपनत्व बढाउने विश्वास व्यक्त गरेका छन्।
थारु कला–संस्कृतिका अभियन्ता विश्वनारायण चौधरीका अनुसार आज शिलान्यास गरिएको घरबास कार्यक्रम आगामी ६ महिनाभित्र सम्पन्न हुनेछ। परियोजनाअन्तर्गत छवटा परम्परागत शैलीका घर निर्माण हुनेछन्, जसमा प्रत्येक घरमा दुई–दुई कोठा रहने गरी जम्मा २४ जना पाहुना अट्ने क्षमता हुनेछ। साथै, एउटा सामुदायिक हल निर्माण गरिनेछ, जहाँ सांस्कृतिक कार्यक्रम, सेमिनार, थारु परिकारको स्वाद प्रदर्शनी तथा कला–संस्कृति सम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।
स्थानीयस्तरमै सञ्चालन हुने यस घरबास कार्यक्रमलाई पूर्वी नेपालकै नमुना परियोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको होमस्टेका अध्यक्ष जय नारायण चौधरीले जानकारी दिनुभएको छ। संस्कृतिको संरक्षणसँगै दिगो पर्यटनमार्फत आर्थिक सशक्तीकरणको मार्ग खोल्ने विश्वासका साथ सुरु गरिएको यो पहलले थारु समुदायको पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।





