
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताउनुभएको छ।
पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको सुनसरीको वराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आज साँझ पुग्नुभएका मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि आवश्यक आधारभूत पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा पर्यटन विकास अघि बढाइने उल्लेख गर्दै भन्नुभयो, “हामीले सधैं सहकार्यको कुरा गर्दै आएका छौं। यही सहकार्य र विकासबाट समृद्धि सम्भव हुन्छ। बर्सातका समयमा कोशी नदीमा केही चुनौती भए पनि अन्य समयमा यहाँ अपार सम्भावना छन्। ती सम्भावनालाई उपयोग गर्न प्रदेश सरकार तयार छ।”
मुख्यमन्त्री कार्कीले स्थानीय समितिलाई क्षेत्रका समस्या, आवश्यकता र सम्भावनाबारे सरकारलाई लिखित रूपमा जानकारी गराउन आग्रह गर्दै योजनाबद्ध विकासमा सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो।
प्रदेश सरकारले कोशी नदीमा आधारित पर्यटन विकासका लागि योजना बनाइरहेका बेला जनस्तरबाट भएको प्रचार–प्रसार र प्रवर्द्धनको प्रशंसा गर्दै उहाँले बोराबाँधको उदाहरणले अन्य सम्भावित पर्यटकीय गन्तव्यलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
“कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रूपमा बोराबाँध पुग्नु उत्साहजनक छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो, “यहाँ आवश्यक आधारभूत संरचना निर्माणका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ।”
कार्यक्रममा बोराबाँध पर्यटन समितिका अध्यक्ष वसन्त राईले सडक पहुँचको समस्या, शौचालयको अभाव तथा अन्य भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
बोराबाँध क्षेत्रमा बढ्दो पर्यटकीय चहलपहलले कोशी नदीलाई केन्द्रमा राखेर दिगो पर्यटन विकासको सम्भावना देखिएको स्थानीयको विश्वास छ।





