इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिएको सामान्य नाकको शल्यक्रियापछि ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनाले कानुनी मोड लिएको छ। पीडित परिवारले अस्पतालको ‘अक्षम्य चिकित्सकीय लापरबाही’ का कारण बालकको जीवन नै अन्धकार बनेको दाबी गर्दै १० करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएका छन्।
नोबेल मेडिकल कलेज, त्यसका सञ्चालक एवं निर्वतमान प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा, तथा ईएनटी विशेषज्ञ चिकित्सकद्वय डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलालाई प्रतिवादी बनाउँदै शुक्रबार फिराद दर्ता गरिएको हो। मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १७ अन्तर्गत दफा ६७२ (१) र (२) बमोजिम क्षतिपूर्ति माग गरिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। अदालतले मुद्दा दर्ता गर्दै आगामी फागुन ४ गते पहिलो तारिख तोकेको छ।
एउटा आँखाको मात्र होइन, पूरै भविष्यको क्षति”
पीडित बालकको तर्फबाट उनका मामा श्रीकृष्ण प्रसाईंले दर्ता गरेको फिरादमा बालकको जीवनभरको उपचार खर्च, मानसिक पीडा तथा भविष्यमा रोजगारीको अवसर गुम्ने अवस्थाको मूल्यांकन गर्दै १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।
अदालतमा मुद्दा दर्ता गरेपछि प्रसाईंले भने, “यो एउटा बालकको आँखाको कुरा मात्र होइन। अस्पतालको व्यापारिक मानसिकता र चिकित्सकको गैरजिम्मेवारीले एउटा परिवारको सम्पूर्ण खुसी खोसिएको छ। हामी न्याय र बालकको सुरक्षित भविष्यका लागि कानुनी लडाइँमा उत्रिएका हौं।”
छानबिन प्रतिवेदन र मेडिकल काउन्सिलको भूमिका
यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले घटनासम्बन्धी छानबिन प्रतिवेदन र जाहेरीसहितका कागजात नेपाल मेडिकल काउन्सिलमा पठाइसकेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार चिकित्सकीय प्राविधिक विषय भएकाले यसमा कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी मेडिकल काउन्सिलकै हुने छ।
के थियो घटना?
इटहरी–१ हाँसपोसा निवासी ७ वर्षीय जेनिस पाठकको नाकमा मासु पलाएको (नेजल पोलिप) उपचारका लागि गत मंसिर ४ गते नोबेल मेडिकल कलेज लगिएको थियो। भोलिपल्ट मंसिर ५ गते डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलाको टोलीले नाकको शल्यक्रिया गरेका थिए।
तर शल्यक्रियापछि बालकले दाहिने आँखाले देख्न नसक्ने गुनासो गरेपछि परिवारले उनलाई तत्काल विराटनगर आँखा अस्पताल (रानी) पुर्‍यायो। त्यहाँ गरिएको परीक्षणले सबैलाई स्तब्ध बनायो। रिपोर्टअनुसार शल्यक्रियाका क्रममा आँखा र मस्तिष्क जोड्ने मुख्य नसा (अप्टिक नर्भ) र रक्तनली नै काटिएको थियो। आँखा अस्पतालले भविष्यमा आँखाको ज्योति फर्किने सम्भावना नरहेको ठोस रिपोर्ट दिएको छ।
छानबिन समितिको गम्भीर निष्कर्ष
घटनापछि व्यापक विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालकी ईएनटी विभाग प्रमुख डा. अनिता जीसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनले शल्यक्रियाको नेतृत्व गरिरहेका वरिष्ठ चिकित्सक डा. प्रज्वल श्रेष्ठको गम्भीर लापरबाही औंल्याएको छ।
प्रतिवेदनअनुसार शल्यक्रिया चलिरहेकै बेला डा. श्रेष्ठ ‘अर्को बिरामी हेर्नु छ’ भन्दै अपरेसन थिएटर छाडेर बाहिरिएका थिए। वरिष्ठ चिकित्सक निस्किएपछि अनुभवहीन सहायक चिकित्सकको भरमा शल्यक्रिया जारी राखिँदा बालकको संवेदनशील नसा काटिएको निष्कर्ष समितिले निकालेको छ। समितिले यसलाई ‘अक्षम्य लापरबाही’ ठहर गर्दै संलग्न चिकित्सकको लाइसेन्स खारेजीसम्मको कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया