इटहरी । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZWAO ले इलाका प्रहरी कार्यालय इटहरीको प्रांगणमा करिब ४ लाख रुपैयाँको लागतमा निर्माण गरेको मेलमिलाप प्रतिक्षालय आज औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
ASEZWAO विश्वव्यापी स्वयंसेवक अभियान सञ्चालन गर्दै आएको संस्था हो। ASEZ को अर्थ Save the Earth From A to Z अर्थात् पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म जोगाऔं भन्ने रहेको छ भने WAO को अर्थ We Are One Family अर्थात् हामी एउटै परिवार हौँ भन्ने जनाउँछ। “हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं” भन्ने मूल नारासहित ASEZWAO विश्वका १७५ राष्ट्रका करिब ७५०० भन्दा बढी क्षेत्रमा सक्रिय रूपमा कार्यरत छ।
उक्त संस्थाले समाजसेवाको निरन्तर यात्रामा इलाका प्रहरी कार्यालय इटहरीको सेवाप्रवाहलाई थप सहज बनाउने उद्देश्यले मेलमिलाप प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुभास हमाल रहनुभएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापा, साथै राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक, सूचना तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा ASEZWAO का २०० भन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
मेलमिलाप प्रतिक्षालय हस्तान्तरण गर्न पाउँदा ASEZWAO का सदस्यहरूले खुशी व्यक्त गर्दै, “नेपाल प्रहरी हाम्रो साथी” भन्ने नारा केवल शब्दमा सीमित नभई व्यवहारमा पनि प्रहरीको साथी बनेर देखाउन पाएकोमा गर्व महसुस भएको बताएका थिए। देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरी सेवाप्रति सम्मानस्वरूप गरिएको यस कार्यको कदर गर्दै इलाका प्रहरी कार्यालय इटहरीको तर्फबाट ASEZWAO लाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
यसैगरी, ASEZWAO ले इटहरी रंगशालामा सम्पन्न सरसफाइ कार्यक्रममा समेत सहभागिता जनाएको कारण इटहरी राष्ट्रिय जागृति क्लब ले संस्थालाई सम्मान पत्र प्रदान गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले ASEZWAO ले आगामी दिनहरूमा पनि देश र समाजको हितमा अझ प्रभावकारी कार्य गर्दै जानु पर्ने शुभकामना व्यक्त गरेका थिए।
ASEZWAO ले रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, आपत्कालीन व्यवस्थापन, राहत वितरण, वृद्धाश्रम सहयोग, सडक तथा खोला–नदी–समुद्र सरसफाइ, वृक्षारोपण, जनचेतनामूलक गोष्ठी तथा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै दिगो विकास लक्ष्य (UNSDGs) अनुरूप अभियान सञ्चालन गर्दै आएको जानकारी संस्थाका प्रतिनिधिले दिए।
संयुक्त राष्ट्रसंघको लक्ष्यअनुसार सन् २०४० सम्म प्लास्टिकमुक्त विश्व बनाउने अभियानमा समेत ASEZWAO सक्रिय रहेको छ।
ASEZWAO ले समाजसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप अमेरिकाबाट अमेरिकी राष्ट्रपति स्वयंसेवक अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणपत्र, पेरुका गभर्नरबाट सम्मान पदक, साथै ग्रीन वर्ल्ड अवार्ड, ग्रीन एप्पल अवार्ड सहित करिब ७०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ। नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट पनि संस्थाले प्रशंसा पत्रहरू प्राप्त गर्दै आएको संस्थाका इटहरी  संयोजक केशव दुलालले जानकारी दिनुभएको  छ।

 

तपाईको प्रतिक्रिया