
विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको क्यासिनोमा लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले विराटनगरका दुई क्यासिनोमा मध्यराति छापा मारेको छ। उक्त कारबाहीमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार राति करिब ११ बजे विराटनगरस्थित बिग होटल भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र रहेको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको हो।
प्रहरी कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत तथा च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। साथै रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलस्थित क्यासिनोबाट ६ जना गरी जम्मा २० जना नेपाली नागरिकलाई रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एसपी कटुवालका अनुसार कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा स्पष्ट रूपमा निषेध गरेको भए पनि सञ्चालकहरूले सो प्रावधानको उल्लंघन गर्दै नेपालीलाई जुवा खेल्न दिएको पाइएको छ।
‘छापा हान्दा क्यासिनोभित्र नेपालीहरू निर्वाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परे,’ एसपी कटुवालले भने, ‘त्यसैले व्यवस्थापकसहित त्यहाँ उपस्थित सबै नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।’
पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूमाथि आजै जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
विराटनगरमा हाल दुई वटा क्यासिनो सञ्चालनमा छन्। कानुनले विदेशी नागरिकका लागि मात्र अनुमति दिएको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई लाखौँ रुपैयाँ बराबरको जुवा खेलाइँदै आएको गुनासो लामो समयदेखि उठ्दै आएको थियो।
प्रहरीको यस कारबाहीलाई क्यासिनो क्षेत्रमा भइरहेको कानुन उल्लंघन नियन्त्रणतर्फको कडा कदमका रूपमा हेरिएको छ।





