११ मंसिर, सुनसरी ! नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको क्रममा सुनसरीको धरानमा आन्तरिक विवाद चुलिएको छ। विवादकै दौरान एमाले जिल्ला सदस्य तथा पूर्वमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामीमाथि निर्घात कुटपिट भएको छ।
राजधामी युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा क्षेत्र नं.–१ बाट उम्मेदवारी दिएका थिए। उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छन्। सर्वसम्मत सहमति गर्ने भन्दै बिहीबार दिउँसो बोलाइएको छलफलमा उम्मेदवारी फिर्ता नगरेपछि राजधामीमाथि आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।
युवातर्फ एक जनाको प्रतिनिधि चयनका लागि राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राई बीच प्रतिस्पर्धा थियो। पार्टी नेतृत्वले निर्वाचन नगरी सर्वसम्मत टुंगो लगाउने तयारी गरेको थियो।
तर राजधामीले आफ्नो उम्मेदवारी नफिर्त्याउने अडान लिएपछि वातावरण तनावपूर्ण बनेको थियो।
एक एमाले धरान स्रोतका अनुसार, “नेतृत्वले गरेको निर्णय मान्य छ भनी कागजमा चार जनाबाट सही गराइयो, तर अनिलले नमानेपछि कुटपिट भयो। त्यसपछि उनलाई पार्टी निर्णय मान्य छ भनी सही–छाप गर्न लगाइयो,” स्रोतले बताए।
कुटपिटपछि राजधामीलाई धरानको विजयपुर अस्पताल पुर्याइएको थियो। उपचारपछि उनी घर फर्किएका छन्।
धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङले घटनालाई “सामान्य विवाद” भनेर व्याख्या गरेका छन्।
उनका अनुसार, “युवाहरुबीच छलफल हुँदा केही तर्क–वितर्क र धकेला–धकेल मात्र भयो। अहिले सबै कुरा मिलिसकेको छ। मिलापत्र भएर, अंकमाल गरेर, अनुहारको ट्रिटमेन्ट गराएर अनिल फर्किइसकेका छन्।”
अब युवा प्रतिनिधि चयनको अन्तिम निर्णय पार्टी नेतृत्वले गर्नेछ !





