
इटहरी , असोज २० – काठमाडौं उपत्यका प्रहरीले सुरक्षा अवस्था संवेदनशील बनेपछि उपत्यकाका सबै प्रहरी बिटका सुरक्षाकर्मीलाई सम्बन्धित प्रहरी वृत्तमा फिर्ता बोलाएको छ।
उपत्यका प्रहरी परिसरले सोमबार साँझ ‘भिक्टर कन्ट्रोल’ कल साइनमार्फत सबै बिट प्रहरीलाई तत्काल वृत्तमा उपस्थित रहन निर्देशन जारी गरेको हो। सो आदेश बेलुकी साढे ७ बजेपछि जारी गरिएको पुष्टि गरिएको छ।
जेन–जी आन्दोलनसँग सम्बन्धित गतिविधिपछि सतर्कता
हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ र उनको टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकालीस्थित प्रहरीमा पुगेका थिए। तर, प्रहरीले ‘जेन–जी आन्दोलन’ सम्बन्धी विषयमा छानबिन आयोग गठन भइसकेकाले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो।
जाहेरी दर्ता हुन नसकेपछि ‘सडकबाटै देखाउँछौं’ भन्दै गुरुङ टोली फर्किएपछि प्रहरीले कुनै अप्रत्याशित घटना हुन नदिन उच्च सतर्कता अपनाउँदै बिट प्रहरीहरूलाई फिर्ता बोलाएको हो।
६० युनिटमा प्रहरी बल पुनः तैनाथ
काठमाडौं उपत्यकामा हाल ६० वटा प्रहरी युनिट (वृत्त) सञ्चालनमा छन्। एक प्रहरी अधिकारीले नेपाल प्रेससँग भने,
“बिटमा जनशक्ति पनि सीमित हुन्छ, स्रोतसाधन पनि त्यहीअनुसारको मात्र हुन्छ। अहिले सम्भावित जोखिमका कारण सबै जनशक्ति वृत्तमा केन्द्रित गरिएको हो।”
सुरक्षामा कडाइ, नागरिकलाई सचेत रहन अनुरोध
प्रहरीका अनुसार उपत्यकामा कुनै पनि असामान्य गतिविधि देखिए तत्काल जानकारी दिन नागरिकलाई आग्रह गरिएको छ। अहिलेको अवस्था सामान्य भए पनि प्रहरीले *‘हाई अलर्ट मोड’*मा तयारी अवस्थामा रहेकाे जनाएको छ।




