इनरुवा / सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरी कपाल काट्ने तालिम संचालनमा ल्याएको छ ।
सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत सशस्त्र प्रहरी बल नेपालले पहिलो चरणमा सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम संचालनमा ल्याएको हो ।
हरिनगर गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एपीएफले केशकर्तक तालिम संचालनमा ल्याएको हो ।
उक्त क्षमता अभिवृद्धि तालिमको सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नु भएको थियो ।
बराह बाहिनी पकली र नम्बर ४ गण इनरुवा सुनसरी आयोजक रहेको केशकर्तक तालिममा स्थानीय २० जना युवालाई प्रशिक्षण दिइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
केशकर्तक तालिम सीमा इलाकामा बसोबास गर्ने स्थानीयहरुसँग समन्वय र सहकार्य गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने संगठनको उद्देश्य बमोजिम संचालनमा ल्याइएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले बताउनु भयो ।
पौडेलले संगठनले सीमाबासीका समस्यालाई सूक्ष्म रुपमा हेरेको बताउनु भयो । वहाँले सिमाबासीका समस्या बुझेर संगठनले स्थानीयको दैनिकी उकास्न र जिविकोपार्जन सहयोगी विभिन्न कार्यक्रम संचालन गर्दै आएको समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सीमाको निगरानी र खबरदारीमा सिमाबासीको भूमिका अहम हुने भएकाले एपीएफले उनीहरुको हकहीतको सवालमा ठोस र प्रभावकारी कार्यलाई जोड दिदै आएको बताउनु भयो ।
बाहिनीपति पोखरेलले सिमाबासीको सवालमा क्षमता अभिवृद्धि लगायतका कार्यक्रम क्रमशः अन्य स्थानमा समेत आयोजना गर्दै लैजाने बताउनु भयो । तालिम प्राप्त दक्ष दनशक्ति आफ्नो क्षेत्रमा अब्बल हुने हुँदा रोजगारीको सुनिश्चितता हुने समेत बताउनु भयो ।
सशस्त्र प्रहरी बलले हरिनगरमा संचालनमा ल्याएको केशकर्तक (कपाल काट्ने) तालिममा पालिकाले छनौट गरेका २० जना स्थानीय सहभागी छन् । उनीहरुलाई १५ दिने निशुल्क तालिम प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया