विराटनगर /  कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशका विभिन्न ७ क्षेत्रका ४६ परियोजनामा करिब १ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी भित्र्याउने गरी लगानीकर्तासँग सम्झौता गरेको छ।

शुक्रवार लगानीकर्ता र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाबीच सम्झौता भएको हो। प्रारम्भिक अनुमानमा सरकार दुई दर्जन परियोजनामा लगानी अपेक्षा गरिरहेको भए पनि त्यसको दोब्बरभन्दा बढी परियोजनामा लगानी प्रतिबद्धता आएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी लगानी उद्योग क्षेत्रमा

४६ परियोजनामध्ये सबैभन्दा धेरै लगानी उद्योग क्षेत्रमा केन्द्रित भएको छ। यो क्षेत्रका लागि मात्रै ६६ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

त्यसपछिको स्थान पूर्वाधार क्षेत्रमा पर्छ, जहाँ ३८ अर्ब ४१ करोड रुपैयाँ लगानी हुने भएको छ।

पर्यटनमा ३४ अर्ब १९ करोड, ऊर्जामा ८ अर्ब ६२ करोड, कृषिमा ३ अर्ब, सूचना प्रविधिमा ४७ करोड र फोहोर प्रशोधन क्षेत्रमा ६ अर्ब लगानी हुने प्राधिकरणले जानकारी दिएको छ।

मुख्य परियोजनाहरू:

  • क्लिंकर प्रशोधन उद्योग (उदयपुर) – ३२ अर्ब

  • हरित युरिया उत्पादन (सुनसरी/उदयपुर) – २६ अर्ब

  • सुरुंगा–इलाम–सन्दकपुर पोडवे (ताप्लेजुङ) – २५ अर्ब

  • बराह क्षेत्र केबुलकार (धनकुटा/सुनसरी) – १६ अर्ब

  • मुर्कुची–हलेसी पोडरेल–केबुलकार (खोटाङ) – १० अर्ब

  • एग्रोभोल्ट्रिक सोलार (उदयपुर) – ५ अर्ब ६० करोड

  • कोशी पोडवे (मोरङ) – ५ अर्ब

  • बर्जू ताल पर्यटन (सुनसरी) – ४ अर्ब २८ करोड

  • विद्युतीय सवारी एसेम्बली प्लान्ट (मोरङ) – ३ अर्ब

  • आरआर इन्टरनेसनल हस्पिटल (मोरङ) – २ अर्ब ४८ करोड

  • बायो–इथानल उत्पादन (धनकुटा/उदयपुर) – २ अर्ब

  • विराटनगर पाँचतारे होटल (मोरङ) – १ अर्ब ७५ करोड

  • पाँचखपन जलविद्युत् परियोजना (संखुवासभा) – १ अर्ब ४२ करोड

यस्तै अन्य विभिन्न साना तथा मध्यमस्तरका कृषि, पर्यटन, होटल, डाटा सेन्टर, सौर्य ऊर्जा, बायोटेक, खाद्य प्रशोधन, फोहोर व्यवस्थापन र यातायातसम्बन्धी परियोजनाहरूमा पनि लगानी प्रतिबद्धता भएको छ।

लगानीका लागि बढ्दो आकर्षण

लगानी प्राधिकरणका अनुसार यी परियोजनाहरूले कोशी प्रदेशमा रोजगारी सिर्जना, पूर्वाधार विस्तार र आर्थिक वृद्धि प्रवर्द्धनमा सहयोग पुग्नेछ।

तपाईको प्रतिक्रिया