युरोप संवाददाता / गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका केन्द्रीय उपमहासचिव तथा झापाका दीपक प्रसाद ओलीले देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

झापा स्थायी घर भएका ओलीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो।

बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत आधारभूत राहत उपलब्ध गराउन आफ्नो सहयोग केन्द्रित हुने उहाँले बताउनुभएको छ।

संकटका बेला नेपाल र नेपालीका पक्षमा निरन्तर सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आउनुभएका ओलीले यसअघि पनि विभिन्न विपद् र सामाजिक समस्यामा सहयोग गर्दै आउनुभएको बताइएको छ।

ओलीले प्राकृतिक विपत्तिको यो कठिन घडीमा देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकजुट भएर बाढी तथा पहिरोपीडितको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्न अपिल गर्नुभएको छ।

उहाँको यो सहयोग घोषणालाई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया