इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारमा वातावरण संरक्षण तथा सरसफाइलाई निरन्तरता दिने उद्देश्यले आजदेखि विशेष सरसफाइ अभियान सुरु गरिएको छ।
अन्तर्राष्ट्रिय युवा स्वयंसेवी संस्था ASEZ WAO को अगुवाइमा सुरु भएको अभियानमा इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोखरेल, वडा सदस्य शिव मिश्र सहित स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, ट्राफिक प्रहरी ,स्वयंसेवक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत पहिलो दिन खनारको मुख्य चोकको कोशी राजमार्गको दायाँ–बायाँ क्षेत्रमा सरसफाइ गरिएको छ। सडक किनारमा थुप्रिएको फोहोर, प्लास्टिकजन्य वस्तु तथा अन्य फोहोर संकलन गरी वातावरण स्वच्छ राख्न अभियान सञ्चालन गरिएको हो।
अभियानका अगुवा केशव दुलालका अनुसार सरसफाइ कार्यक्रमलाई एकदिने अभियानमा सीमित नराखी आगामी दिनमा खनार क्षेत्रका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ। उनका अनुसार सडक, सार्वजनिक स्थल तथा समुदायमा फोहोर व्यवस्थापनप्रति नागरिकको जिम्मेवारी बढाउँदै स्वच्छ र व्यवस्थित खनार निर्माण गर्ने अभियानको उद्देश्य छ।
प्लास्टिक प्रदूषणविरुद्ध विश्वव्यापी अभियानसँग जोडिँदै
ASEZ WAO ले सञ्चालन गरिरहेको यो अभियानलाई प्लास्टिक प्रदूषण न्यूनीकरणको विश्वव्यापी प्रयाससँग समेत जोडिएको छ। ASEZ WAO ले हाल ‘Plastic-Free 2040’ अभियान सञ्चालन गर्दै प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोगयोग्य सामग्रीको प्रयोग बढाउने, फोहोरको उचित वर्गीकरण गर्ने तथा सडक सरसफाइजस्ता गतिविधिलाई प्राथमिकता दिएको छ। संस्थाका अनुसार अभियानको लक्ष्य सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी प्रयासमा योगदान पुर्‍याउनु हो।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) का अनुसार विश्वमा प्रत्येक वर्ष ४० करोड टनभन्दा बढी प्लास्टिक उत्पादन हुने गरेको छ र यसको ठूलो हिस्सा केही समयमै फोहोरमा परिणत हुन्छ। प्लास्टिक प्रदूषणले जलचर, स्थलचर, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यमा समेत जोखिम बढाइरहेको छ।
UNEP का अनुसार हरेक वर्ष करिब १ करोड ९० लाखदेखि २ करोड ३० लाख टनसम्म प्लास्टिक फोहोर नदी, ताल तथा समुद्रजस्ता जल प्रणालीमा पुग्ने गरेको अनुमान छ। प्रभावकारी कदम नचालिए सन् २०४० सम्म जल प्रणालीमा पुग्ने प्लास्टिक फोहोरको मात्रा झण्डै तीन गुणासम्म बढ्न सक्ने चेतावनीसमेत दिइएको छ।
‘सफा खनार’ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता
ASEZ WAO ले नेपालमा सडक सरसफाइ, प्लास्टिक न्यूनीकरण, वृक्षारोपण तथा वातावरणीय जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले विश्वका विभिन्न मुलुकमा युवा तथा कामकाजी स्वयंसेवकमार्फत वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
इटहरी क्षेत्रमा पनि यसअघि ASEZ WAO विभिन्न सामाजिक तथा वातावरणीय गतिविधिमा सहभागी हुँदै आएको छ। सडक सरसफाइ, सार्वजनिक स्थल सुधार तथा प्लास्टिक न्यूनीकरणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ।
खनारमा सुरु भएको पछिल्लो अभियानले सरसफाइसँगै ‘फोहोर नगर्ने, प्लास्टिकको प्रयोग घटाउने र सार्वजनिक स्थानलाई आफ्नै घरजस्तै सफा राख्ने’ संस्कार विकास गर्न स्थानीयस्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
अभियानका अगुवा दुलालले सरसफाइमा स्वयंसेवी संस्था मात्र नभई स्थानीय सरकार, व्यवसायी, विद्यार्थी, युवा तथा आम नागरिकको निरन्तर सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार नियमित सरसफाइसँगै फोहोर उत्पादन हुने स्थानमै वर्गीकरण र उचित व्यवस्थापन गर्न सके खनारलाई स्वच्छ र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न सकिनेछ।
सानो प्रयासबाट सुरु भएको यो अभियानलाई निरन्तरता दिन सके सडक सफा मात्र होइन, नागरिकको व्यवहारमा समेत परिवर्तन ल्याउन सकिने आयोजकको विश्वास छ !

तपाईको प्रतिक्रिया