इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा काठमाडौंमा निधन भएका रवीन्द्र मेहताको आज अन्तिम बिदाइ गरिएको छ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालबाट हेलिकप्टरमार्फत ल्याइएको मेहताको शवमा अन्तिम श्रद्धाञ्जली दिन कप्तानगञ्जमा हजारौँ स्थानीय तथा शुभेच्छुकको भीड जम्मा भएको छ।
शवयात्रामा सहभागी स्थानीयले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मेहतालाई अन्तिम बिदाइ गरेका छन्। शोकाकुल परिवार, आफन्त तथा स्थानीयवासीको सहभागितामा निकालिएको शवयात्राले कप्तानगञ्जको वातावरण भावविह्वल बनेको छ।
सरकारले कप्तानगञ्ज घटनासँगै भएका आन्दोलनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहतासहित चार जनालाई शहीद घोषणा गरेपछि परिवारले शव बुझेर अन्तिम संस्कारको प्रक्रिया अघि बढाएको हो। सरकारको उक्त निर्णयपछि काठमाडौंमा रहेको मेहताको शव गृहजिल्ला सुनसरी ल्याइएको हो।
कप्तानगञ्जमा भएको घटनामा यसअघि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उपचारका क्रममा रहेका जयप्रकाश मेहताको पनि केही दिनपछि विराटनगरमा निधन भएपछि घटनामा मृत्यु हुने स्थानीयको संख्या दुई पुगेको थियो। रवीन्द्र मेहताको उपचारका क्रममा काठमाडौंमा निधन भएपछि कप्तानगञ्ज घटनामा गोली लागेर ज्यान गुमाउने स्थानीयको संख्या तीन पुगेको हो।
कप्तानगञ्जमा साउने सोमबारका लागि मन्दिरमा झन्डा राख्ने विषयलाई लिएर सुरु भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा लाठीचार्ज र अश्रुग्यास तथा हवाई फायर गरेको र अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाएको विवरण सार्वजनिक भएको थियो। घटनामा सुरक्षाकर्मीसहित ठूलो संख्यामा मानिस घाइते भएका थिए।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु लगाउनुका साथै स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्नुपरेको थियो। घटनाले स्थानीय तहमा मात्रै नभई जिल्लाभर नै सामाजिक तथा धार्मिक सद्भावको विषयलाई गम्भीर बहसमा ल्याएको थियो।
घटनापछि सरकारले निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
तर घटना भएको लामो समय बितिसक्दा पनि छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। गोली चलाउनुपर्ने अवस्था किन आयो ? सुरक्षाकर्मीबाट बल प्रयोग गर्दा कानुनी प्रक्रिया पालना भयो कि भएन ? गोली लागेर सर्वसाधारणको मृत्यु हुने अवस्था कसरी सिर्जना भयो ? घटनामा कसको कमजोरी रह्यो ? र दोषी को हुन् ? भन्ने प्रश्न अझै अनुत्तरित छन्।
घटनाको प्रारम्भिक विवरणमा गोली लागेका अधिकांश घाइतेको शरीरमा कम्मरभन्दा माथि समेत गोली लागेको उल्लेख गरिएको थियो। यसले सुरक्षाकर्मीले भीड नियन्त्रणमा अपनाएको बल प्रयोगको विधिमाथि समेत प्रश्न उठाएको थियो।
यसबीच, सरकारले मृतकलाई शहीद घोषणा गरी परिवारलाई राहत तथा अन्य व्यवस्थाको प्रक्रिया अघि बढाए पनि कप्तानगञ्ज घटनाको वास्तविक कारण, गोली चलाउनुको औचित्य र घटनामा जिम्मेवार पक्षबारे आधिकारिक प्रतिवेदन सार्वजनिक हुनु अझै बाँकी छ।
आज रवीन्द्र मेहताको शवयात्रामा सहभागी हजारौँको भीडले एउटा परिवारको सदस्यलाई मात्र होइन, घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, पीडित परिवार र स्थानीयवासीले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने मागसमेत दोहोर्याएका छन्।






