इटहरी । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै दन्तबझान, संसद अवरोध र जनताका आधारभूत एजेण्डा ओझेलमा पर्ने दिशातर्फ जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देशलाई फेरि अस्थिरताको पुरानै चक्रमा फर्काउने प्रयास स्वीकार्य नहुने बताउनुभएको हो। उहाँले अब कुनै पनि राजनीतिक शक्तिलाई देशलाई गरीबी, बेरोजगारी र अस्थिरताको दुष्चक्रमा फसाइराख्ने छुट नभएको उल्लेख गर्नुभएको छ।
भट्टराईले सरकारका कमजोरी र गल्तीको आलोचना गर्नुपर्ने भए पनि लोकतान्त्रिक प्रणालीअनुसार उसलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राख्नुभएको छ। “सरकारले काम गर्न सकेन भने आगामी निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो खुला छ,” उहाँको भनाइ छ।
उहाँले नेपाली राजनीतिमा पुस्तान्तरण भइसकेको उल्लेख गर्दै अब पुरानै शैलीको राजनीतितर्फ फर्किने सम्भावना नरहेको दाबी गर्नुभएको छ। “नयाँको विकल्प अझ नयाँ हुन सक्छ,” भन्दै उहाँले बदलिँदो राजनीतिक चेतना र नयाँ पुस्ताको आकांक्षालाई बेवास्ता नगर्न दलहरूलाई सचेत गराउनुभएको छ।
भट्टराईको अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिस्थितिप्रति आएको महत्वपूर्ण टिप्पणीका रूपमा हेरिएको छ।






