
इटहरी । नेपाली रैथाने परिकारलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउँदै आएका सन्तोष साह ले विराटनगरमा ‘मिथिला थाली’को पाँचौँ शाखा सञ्चालनमा ल्याएका छन्। विराटनगरको दुधफार्म क्षेत्रनजिक बुधबार आयोजित कार्यक्रममार्फत नयाँ शाखाको औपचारिक शुभारम्भ गरिएको हो।
मिथिला संस्कृति, परम्परा र खानपानलाई आधुनिक आतिथ्य सेवासँग जोड्ने उद्देश्यसहित ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ अवधारणालाई एउटै छानामुनि समेटिएको साहले जानकारी दिए। उनका अनुसार यो शाखासँगै देशभर ‘मिथिला थाली’का शाखा संख्या पाँच पुगेका छन्। यसअघि काठमाडौंको गैरीधारा, गौशाला, झम्सिखेल तथा जनकपुरमा शाखा सञ्चालनमा छन्।
कार्यक्रममा बोल्दै साहले बाल्यकालदेखि आफू मिथिला संस्कृतिसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै त्यसैलाई व्यवसायिक पहिचानका रूपमा विस्तार गरिरहेको बताए।
“मिथिलाको स्वाद, संस्कार र आतिथ्यलाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित यो अभियान अघि बढाएका हौं,” उनले भने।
नयाँ शाखामा प्रारम्भिक चरणमा एकैपटक करिब एक सय पाहुनालाई सेवा दिन सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा सेवा विस्तार गर्दै क्षमता बढाएर करिब २ सय ५० जनासम्म पुर्याउने योजना रहेको सञ्चालक पक्षले जनाएको छ।
रेस्टुरेन्टमा मिथिला क्षेत्रका मौलिक परिकारलाई विशेष प्राथमिकता दिइएको छ। ‘मिथिला थाली’ अन्तर्गत तरुवा, तिलौरी, बरीया, कढीबडी, विभिन्न चोखा, घिउ–रोटी, भात तथा सलादजस्ता परिकार मुख्य आकर्षणका रूपमा रहेका छन्। त्यसैगरी ‘जनकपुर फिस हाउस’मार्फत माछाका करिब १० प्रकारका विशेष परिकार ग्राहकलाई उपलब्ध गराइने जनाइएको छ।
रेस्टुरेन्टको आन्तरिक सजावटमा समेत मिथिला कला, संस्कृति र परम्परागत जीवनशैली झल्किने शैली अपनाइएको छ। यसले ग्राहकलाई खानासँगै मिथिलाको सांस्कृतिक अनुभूति दिने विश्वास सञ्चालकको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली परिकारको प्रवर्द्धनमा सक्रिय साहले पछिल्ला वर्षहरूमा अमेरिका, युरोप, अष्ट्रेलिया, न्युजिल्यान्ड र जापानलगायत मुलुकमा नेपाली रैथाने खानाको ‘पप–अप शो’ गर्दै आएका छन्। स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्ड विस्तारलाई तीव्रता दिएका छन्।





