इटहरी । सुनसरी जिल्लाको  कोशी गाउँपालिकाको लौकही –१ मा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विजय साह रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणका क्रममा भएको झडपमा गोली चलाउनु परेको हो। प्रहरीका अनुसार  तस्करी रोक्ने प्रयास भइरहँदा स्थिति तनावग्रस्त बनेपछि जवाफी फायर गर्नुपरेको र सोही क्रममा गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको हो।
सशस्त्र प्रहरी बलले घटनालाई क्रस फायरिङको अवस्था भन्दै आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरेको छ। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ।
तर, घटनाप्रति स्थानीय बासिन्दाले कडा आक्रोश व्यक्त गरेका छन्। स्थानीयवासीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै मृतकको शव नउठाउने चेतावनी दिएका छन्। उनीहरू “निष्पक्ष छानबिन गर, दोषीलाई कारबाही गर” भन्ने नारासहित प्रदर्शनमा उत्रिएका छन्।
घटनास्थल तनावग्रस्त बनेपछि प्रशासनले वार्तामार्फत स्थिति साम्य पार्ने प्रयास गरिरहेको छ। यता, प्रहरीले घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
घटनाले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा अपनाइने सुरक्षा रणनीति र नागरिक सुरक्षाबारे पुनः बहस जन्माएको छ।

तपाईको प्रतिक्रिया