विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी उपरीक्षक नारायण चिमरिया आउने भएका छन् ।

प्रहरी उपरीक्षक नवराज कार्की लेनदेन विवादमा परेर हेडक्वाटर तानिएपछि उनको स्थानमा राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर ३ दिनमै लिम्बूको सरुवा रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूको निर्णय रोकिएको बताउँदै उनले भने,‘ नारायण चिमरियालाई पठाउने निर्णय भएको छ ।’

चिमरिया नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीमा कार्यरत थिए । मोरङमा काज सरुवा भएपछि गणबाट उनी विदाइ भएका छन् । चिमरियाले १–२ दिन भित्र मोरङमा हाजिर हुने बताए ।

कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो । गृहमन्त्री रमेश लेखकलाई भनेर कांग्रेस नेताहरुले लिम्बूको सरुवा राकेका हुन् । लिम्बू नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थिए ।

उनलाई ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । हाङगाम अहिले प्रदेशको मन्त्री हुन् ।

कांग्रेस नेताहरुले मोरङमा चिमरियालाई ल्याउन प्रस्ताव गरेपछि प्रहरी प्रधान कार्यालयले उनलाई नै पठाउने निर्णय गरेको प्रहरी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया