काठमाडौँ । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टी हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ।

दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताएका थिए। दुई साताअघि काठमाण्डूस्थित त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको एउटा यात्रुवाहक विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा विमानचालक मात्र जोगिएका थिए।

तपाईको प्रतिक्रिया