इटहरी /सुनसरीको खनारस्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा जारी फुटबल प्रतियोगिताको पाँचौं दिन आयोजक खनार एकता क्लब शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक टोलीले रामधुनी मोहनपुर एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल सुरक्षित गरेको हो।
खेल सुरु भएको केही मिनेटमै आयोजक टोलीका खेलाडी विकि चौधरील पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। प्रारम्भदेखि नै आक्रामक खेल प्रस्तुत गरेको खनार एकता क्लबले पहिलो हाफमा खेलमाथि पकड जमाएको थियो।
खेलको आफ पछि पनि आयोजक टोलीले आफ्नो दबाब कायम राख्यो। खेलको निर्णायक क्षणमा स्मित तामाङ अर्को आकर्षक गोल थप्दै टोलीको जित सुनिश्चित गरे। दोस्रो गोलसँगै दर्शकमाझ उत्साह थपिएको थियो भने आयोजक टोलीको सेमिफाइनल यात्रा पनि पक्का भएको थियो।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका प्रभात लिम्बु “म्यान अफ द म्याच” घोषित भए। उनले मध्यपंक्तिबाट टोलीलाई सशक्त साथ दिँदै खेल नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
घरेलु मैदानमा समर्थकको उल्लेखनीय साथ पाएको खनार एकता क्लब अब उपाधि नजिक पुग्ने लक्ष्यसहित सेमिफाइनल खेलको तयारीमा जुटेको छ।







