- विचार : तुलानारायण शाह
विचार : तुलानारायण शाह

पत्रपत्रिकामा लेखिने लेख रचनामा म आफ्नो नाम ‘तुलानारायण साह’ लेख्छु । नागरिकतामा पनि त्यही लेखाउन चाहन्थेँ तर लेखिएको छ ‘तुला नारायण शाह’ ।
एसएलसीदेखिको प्रमाण पत्रहरुमा नेपाली भाषामा लेखिएका कुनै प्रमाण पत्रमा तुला नारायण शाह त कुनैमा तुलानारायण शाह लेखिएको छ । प्रायःजसो अँग्रेजी भाषामा लेखिएका प्रमाणपत्रहरुमा Tula Narayan Shah लेखिएको छ । तर यसको आफ्नै कथा छ,अहिले बालेनको थरको विवाद र मेरो थरको सवाल उस्तै मिल्न गएकोले थोरै रमाइलो र थोरै खिन्नता एकसाथ महशुस भइरहेको छ ।

म २०४३ सालमा एसएलसी परिक्षामा सामेल हुनलाई परिक्षा फारम भर्दा तुला नारायण साह लेखेको थिएँ । प्रवेश पत्रमा मेरो नाम त्यस्तै हुने नै भयो । रोलनम्बर चैँ 0११३१८ (H) लेखेर आयो । जाँच दिएँ । उतिबेला ६ महिनामा रिजल्ट आउँथ्यो । तेस्रो डिभिजनमा उतिर्ण हुँदा पनि घरमा सत्यनारायण भगवानको चौपहरा पूजा गरिएको थियो । रातभरी चार प्रहरमा चार पटक गरिने पूजालाई चौपहरा पूजा भन्थे हाम्रो देहातको समाजमा । रिजल्ट आएको करिब एकमहिनापछि स्कुलमा मार्कसीट आयो । ठूलो अँग्रेजी अक्षर (Capital Letter)मा लेखिएको त्यस मार्कसीटमा मेरो नाम TULA NARAYAN SHAH लेखिएको थियो । चारित्रिक प्रमाणपत्र लिने बेलामा किरानी सर पिताम्बर लाल दासले प्रश्न उठाउनुभयो, यो तेली जातको भएकोले थरमा ‘साह’ लेख्नुपर्ने हो तर त्यो लेखिँदा मार्कशीटभन्दा फरक हुन्छ, के गरुँ ? कुरो हेडसर जनक किशोर लाल कर्णकहाँ पुग्यो । हेडसरले ‘शाह’ लेखेर दिन आदेश दिनुभयो । अनन्तः चारित्रिक प्रमाणपत्रमा मेरो नाम तुला नारायण शाह लेखियो ।
केही महिनापछि गाउँमा नागरिकता टोली खटेको थियो । सबै प्रमाणपत्र देखाएपछि नागरिकतामा पनि ‘शाह’ नै लेखेर दियो तर बुबाको नाममा फेरी ‘साह’ नै थियो, त्यही लेखियो । त्यस उप्रान्त म कुनै पनि प्रकारको सरकारी र शैक्षिक कागजातमा आफ्नो थरमा ‘शाह’ नै लेखिराखेको छु । छोराहरुको थरमा पनि त्यही लेखाएको छु, हिनताबोध भएर होइन हजुर, सरकारी झमेलामा नपरोस भनेर ।
२०४९/५० सालतिर त्रिचन्द्र क्याम्पसमा पढदा क्याम्पसको ७५ बर्ष पुगेको उपलक्ष्यमा गोरखापत्रमा एउटा लेख बुझाइएको थिएँ । लेख त छापियो तर नाममा चैँ तुलानारायण श्रेष्ठ उल्लेख थियो । कन्टेन्ट पुरै मेरो नाम अर्कैको । तारा बराल प्रधान सम्पादक हुनुहुन्थ्यो जस्तो लाग्छ । भोलीपल्ट छापिएको लेख र बुझाएको कन्टेन्ट लगेर देखाएपछि पर्सीपल्ट भुल सुधार छापिएको थियो, लेख छापिने पेजको पुछारमा । ‘साह’ हुनुपर्नेमा अन्यथा हुन गएको भनेर..!
काठमाण्डौको मिडियमा आज पनि मधेसी थरका मानिसहरु थोरै लेख लेखेको पाइन्छ, उतिबेला त झनै झण्डै के अवस्था थियो हामीसबैले अनुमान लगाउने कुरा हो । मलाई लाग्छ, गोरखापत्रमा टाइप गर्नेलाई विश्वासै लागेको थिएन कि यो ‘साह’ थरको मानिसले त्रिचन्द्र कलेजकोबारे लेख लेखेको होला भनेर । यो विशुद्ध मेरो अनुमान हो । कारण अरुपनि हुनसक्छ ।
मेरो बिचारमा यस्तो थर परिवर्तन वा हिज्जेमा गल्ती, नागरिकताको प्रकारमा फरक, जन्ममितिमा हेरफेर मधेसमा धेरैको होला ।
आज बालेनको थरबारे काठमाण्डौको मिडियाले समाचार बनाएको छ, विभिन्न कोणबाट घोचपेच भइरहेको छ । मैले पनि अनेकाँै पटक घोचपेच खेप्नुपरेको छ । कहिले परोक्ष त कहिले प्रत्यक्षरुपमा । सबैलाई सँधै ब्याख्या गरिराख्न संभव हुँदैन । अहिले सन्दर्भ मिल्न गएकोले लेख्ने जमर्को गरेको हुँ ।

तपाईको प्रतिक्रिया