
सुनसरी ।सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएपछि सशस्त्र प्रहरी बलमा व्यापक हेरफेर गरिएको छ। घटनापछि सशस्त्र प्रहरी बल नेपालले ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई जिम्मेवारीबाट तानेको छ।
घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोकले छुट्टै छानबिन समिति गठन गरेको छ। स्थानीयवासीको आक्रोश र विरोध प्रदर्शन चर्किएपछि ४ नम्बर गण सुनसरीका गणपति एसपी निर्मल कुमार थापालाई बराह बाहिनी, पकलीमा तानिएको हो।
थापाको स्थानमा अर्का सशस्त्र प्रहरी एसपी ज्ञानमणि पौडेललाई खटाइएको बराह बाहिनीका बाहिनीपति डिआईजी कुमार न्यौपानेले जानकारी दिए।
त्यसैगरी, बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जना सशस्त्र प्रहरीको सम्पूर्ण सेट परिवर्तन गरिएको छ। कटवालको स्थानमा सशस्त्र प्रहरी निरीक्षक भुपाल खड्कासहित नयाँ ३५ जना प्रहरीलाई लौकहीमा खटाइएको डिआईजी न्यौपानेले बताए।
सिटी सफारी चालक साहमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले गोली हान्ने प्रहरीविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
गत बुधबार राति कोशी गाउँपालिका–लौकहीस्थित सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक भारतबाट तस्करीको चिनी लिएर नेपालतर्फ आउँदै गरेका साहमाथि ड्युटीमा रहेका सशस्त्र प्रहरी हबल्दार खतिवडाले गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो।
घटनाको छानबिनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको अर्को तीन सदस्यीय समिति गठन गरेको छ। दुवै समितिले घटनाको गहिरो छानबिन गरिरहेको जनाएका छन्।
यसैबीच सशस्त्र प्रहरीले भारतबाट तीनवटा अटो र एउटा सिटी सफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको दाबी गरेको छ। तर घटनापछि सशस्त्र प्रहरीमाथि मुद्दा दर्ता हुनु र सामूहिक सरुवा गरिनुले फिल्डमा कार्यरत प्रहरीको मनोबल घट्ने भन्दै केही सशस्त्र प्रहरी कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्।





