
सुनसरी । सुनसरीको धरान–१५ स्थित बाझगरा सामुदायिक वनसँग जोडिएको धार्मिक वन क्षेत्रमा नियमविपरीत सञ्चालन हुँदै आएको अवैध रेस्टुरेन्ट अन्ततः बन्द गरिएको छ। वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू जिल्ला वन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सोमबार भत्काइदिएको हो।
धरानको महादेवचोकदेखि पानबारी जाने मदन भण्डारी राजमार्ग नजिकैको धार्मिक वन क्षेत्रमा स्थानीय कल्पना राईले करिब एक वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गर्दै आएको उजुरी तथा समाचार सार्वजनिक भएपछि जिल्ला वन कार्यालयले छानबिन अघि बढाएको थियो।
छानबिनका क्रममा धार्मिक वनभित्र कंक्रिटका टहरा निर्माण गरी खुला रूपमा व्यावसायिक गतिविधि सञ्चालन गरिएको पुष्टि भएपछि प्रहरी र वन कार्यालयको संयुक्त टोली परिचालन गरिएको जिल्ला वन कार्यालय सुनसरीका प्रमुख रितेश बस्नेतले जानकारी दिए। उनका अनुसार वन ऐन, २०७६ विपरीत धार्मिक वन क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिएको ठहर भएपछि कानुनी प्रक्रिया पूरा गरी अवैध संरचना हटाइएको हो।
धार्मिक वन क्षेत्र पूर्ण संरक्षणका लागि छुट्याइएको संवेदनशील क्षेत्र भएकाले यहाँ कुनै पनि प्रकारको व्यावसायिक निर्माण वा गतिविधि गर्न नपाइने स्पष्ट गर्दै बस्नेतले अतिक्रमण गरी बनाइएका संरचना हटाएर वन क्षेत्रलाई पूर्वावस्थामा फर्काउने कार्य सुरु गरिएको बताए।
वन क्षेत्रमा अवैध रेस्टुरेन्ट सञ्चालन गरिएको विषयमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएपछि जिल्ला वन कार्यालयले छानबिन समिति गठन गरेको थियो। समितिले वन फडानी, कंक्रिट संरचना निर्माण तथा गैरकानुनी व्यवसाय सञ्चालन गरिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि सब–डिभिजन वन कार्यालय धरानलाई निर्देशन दिइएको र संयुक्त टोली परिचालन गरी वन क्षेत्र खाली गराइएको बस्नेतले बताए। उनले अवैध संरचना हटाइएसँगै सम्बन्धित व्यक्तिमाथि थप कानुनी कारबाही प्रक्रिया पनि अघि बढाइने जानकारी दिए।
स्थानीय बासिन्दाहरूले भने धार्मिक वन क्षेत्रमा व्यवसाय सञ्चालन हुँदा वर्षौँदेखि बोटबिरुवा नष्ट हुँदै आएको भन्दै विरोध जनाउँदै आएका थिए। वन संरक्षणका लागि छुट्याइएको क्षेत्रमा खुलेआम रेस्टुरेन्ट सञ्चालन भइरहँदा पनि लामो समयसम्म सम्बन्धित निकाय मौन बसेको भन्दै उनीहरूले आलोचना गरेका थिए।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले वन कार्यालयको अनुरोधअनुसार प्रहरी टोली परिचालन गरी अवैध संरचना भत्काउने कार्यमा सहयोग गरिएको जानकारी दिए।





