
सुनसरी । नेपाल रेडक्रस सोसाइटी खनार उपशाखा र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको आयोजनामा खनारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविर मिति २०८१ पुस ४ गते खनारमा सञ्चालन गरिएको हो।
शिविरमा खनार तथा आसपासका क्षेत्रका २५० जना भन्दा बढी नागरिकले आँखा परीक्षण सेवा लिएका छन्। परीक्षण गरिएका मध्ये आँखासम्बन्धी समस्या देखिएका बिरामीलाई आवश्यक परामर्शका साथै औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा परीक्षण गरिएका बिरामीमध्ये ९० जनालाई चश्मा आवश्यक पर्ने देखिएको छ भने उनीहरूलाई निःशुल्क चश्मा उपलब्ध गराइएको जनाइएको छ। साथै गम्भीर आँखासम्बन्धी समस्या भएका बिरामीलाई थप उपचारका लागि रेफर गरिएको छ। जसमध्ये मोतियाबिन्दुका समस्या देखेका ४१ जनाको निःशुल्क अपरेसन गर्ने समेत जानकारी दिएको छ। शिविरमा विराटनगर स्थित रामलाल गोल्छा आँखा अस्पतालले निःशुल्क प्राविधिक सहयोग गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता सेवा विस्तार गर्ने नेपाल रेड क्रस सोसाइटी खनार उपशाखाका सचिव तेजेन्द्र शेरबहादुर कार्कीले जानकारी दिनुभएको छ। जनाएको छ।
शिविर सफल बनाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीयको उल्लेखनीय सहयोग रहेको उपशाखाले जनाएको छ। 





