इटहरी / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई जंगली हात्तीले आक्रमण गरेको हो।
स्थानीयका अनुसार घिमिरे बिहान दूध बेच्न निस्कने क्रममा करिब बिहान ५ बजेतिर हात्तीको आक्रमणमा परेका थिए। आक्रमण यति भीषण थियो कि घटनास्थलमै उहाँको मृत्यु भएको जनाइएको छ।
पछिल्लो समय बेलबारी र सुन्दरहरैँचा क्षेत्र आसपासमा जंगली हात्तीको चहलपहल बढ्दै गएको स्थानीयवासीले बताएका छन्। घटना घटाएपछि हात्तीको हुल खोरसाने हुँदै जंगलतर्फ फर्किएको जनाइएको छ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने वन्यजन्तु नियन्त्रण तथा सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। यसअघि पनि यस क्षेत्रमा हात्तीको आतंकका कारण मानवीय तथा भौतिक क्षति हुँदै आएको स्थानीयको गुनासो छ।






