सुनसरी । इटहरी उपमहानगरपालिका–१३ अन्तर्गत खनार क्षेत्रमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।

केहि समयदेखि खनार क्षेत्र हुँदै गाँजा भारत तर्फ पैठारी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी इन्चार्ज सई प्रहलाद बोगटीको नेतृत्वमा प्रहरीले निगरानी कडा गरेको थियो।

उक्त क्रममा गएराति करिब ८ बजे दुईवटा मोटरसाइकलमा सवारी भइरहेका व्यक्तिहरूलाई शंका लागेपछि रोककि चेकजाँच गर्दा करिब २० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजासहित धनकुटा जिल्ला, सागुरीगढी गाउँपालिका–५ का भीम लिम्बु र सागुरीगढी–३ का खेम लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

पूर्वी नेपालका धनकुटा, भोजपुर, संखुवासभा लगायतका पहाडी जिल्लामा अवैध रूपमा उत्पादन गरिने गाँजा सुनसरीको विभिन्न मार्ग हुँदै भारत तर्फ तस्करी हुने गरेको पनि प्रहरीको भनाइ छ।

यसअघि पनि खनार क्षेत्रमौ ठूलो परिमाणको प्रतिबन्धित लागू औषधीसहित स्थानीय औषधि व्यवसायी नसीब चौधरी पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया