
इटहरी । इटहरी उपमहानगरपालिका–१२ संविधानचोक नजिक कोशी लोकमार्गमा शुक्रबार दिउँसो भएको त्रिपक्षीय सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस (ना.प्र. १–०१–००१ ख ४२६८) अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको अटो (को.२ ह ५६९४) लाई ठक्कर दिएपछि विपरीत दिशाबाट आइरहेको मोटरसाइकल (प्र.२–०२–००१ प १६१२) सँग ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी श्रीमती ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन्।
घाइते गीतालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज, बूढीगंगा मोरङ पठाइएको थियो। अस्पतालले गोकुलराजको मृत्यु पुष्टि गरेको छ भने गीताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखी उपचार भइरहेको जनाएको छ।
मृतकको शव पोस्टमार्टमपछि उनकी छोरी सोनी प्रधानले बुझेकी छन्।
दुर्घटनामा संलग्न बस चालक धरान उपमहानगरपालिका–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ। त्यस्तै, अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राईलाई पनि प्रहरी चौकी खनारको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटना स्थल खनार प्रहरी चौकीबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ !





