इटहरी , असोज २२ । प्रहरीको साइबर ब्युरोले एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग बयान लिने प्रक्रिया सुरु गरेको छ। एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइँदै गरेको ब्युरो स्रोतले जानकारी दिएको छ।

पहिले जाहेरी रीतपूर्वक नआएको भन्दै प्रहरीले बयान लिन अस्वीकार गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले उक्त जाहेरी अनुसन्धानका लागि पठाएपछि साइबर ब्युरोले औपचारिक रुपमा अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

ब्युरो स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि नेता बस्नेत आज बुधबार बिहान ठीक १० बजे भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका थिए। त्यसपछि अनुसन्धान टोलीले उनीसँग विस्तृत रूपमा बयान लिएको बताइएको छ।

यस प्रकरणमा साइबर ब्युरोले आवश्यक प्रमाण संकलन र डिजिटल अभिलेखको परीक्षणसमेत सुरु गरेको छ। स्रोतका भनाइअनुसार, बयानपछि प्राप्त विवरण र प्रमाणको आधारमा थप कानुनी कारबाही अघि बढाइनेछ।

हालसम्म यस विषयमा बस्नेत वा एमाले नेतृत्वले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् !

तपाईको प्रतिक्रिया