
सुनसरी / सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान स्मार्ट मोबाइल फोन हस्तान्तरण गरिएको छ। ट्राफिक प्रहरीको कामलाई अझ प्रभावकारी र छरितो बनाउन कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यी मोबाइलहरू उपलब्ध गराएको हो।
सोमबार आयोजित विशेष कार्यक्रममा उक्त मोबाइल फोनहरू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका निमित्त कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
अब ट्राफिक प्रहरीले नागरिक एपमार्फत ई–चलान प्रणाली प्रयोग गर्दा सवारी चालकको लाइसेन्समा रहेको QR कोड स्क्यान गरी कारबाही प्रक्रिया छिटो र सजिलो बनाउनेछ। साथै, सार्वजनिक सवारीसाधनमा डिजिटल टाइम कार्ड को प्रयोगले दैनिक सञ्चालनको अनुगमन गर्न सकिनेछ। लामो दूरीमा यात्रा गर्ने सवारीमा चालक परिवर्तन भए/नभएको विवरण यकिन गर्न पनि यसले सहजता ल्याउनेछ।
यो प्रविधिमैत्री उपायले सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउने र ट्राफिक व्यवस्थापनलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरीको सेवामा देखिएको यो नयाँ प्रविधिगत सुधारले यात्रु सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।





