- टिप्पणीकार : तीर्थराज बजगाई
टिप्पणीकार : तीर्थराज बजगाईं।
टिप्पणीकार : तीर्थराज बजगाईं

 

संसद केवल इँटा, ढुंगा र कुर्सीले बनेको भवन होइन । संसद जनताको आशा, विश्वास र सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने सर्वोच्च राजनीतिक संस्था हो । त्यहाँ बसेका प्रत्येक सांसदको कुर्सीमा एउटा व्यक्तिको नाम मात्र लेखिएको हुँदैन, त्यहाँ लाखौँ नागरिकको भरोसा जोडिएको हुन्छ । त्यसैले संसद भवनभित्र उच्चारण हुने प्रत्येक शब्द, गरिने प्रत्येक व्यवहार र चालिने प्रत्येक कदमको मूल्य जनताले चुकाइरहेका हुन्छन् ।
तर पछिल्लो समय संसदका केही दृश्यले एउटा असहज प्रश्न जन्माएको छ, माननीय सांसदहरूमा ज्ञानको अभाव हो कि पद प्राप्त गरेपछि पैदा भएको अहंकारी स्वभाव हो ?
यो प्रश्न सबै सांसदप्रति समान रूपमा लागू हुँदैन । संसदमा नियमित उपस्थित हुने, विषयको गहिरो अध्ययन गरेर बोल्ने, जनताका वास्तविक समस्या उठाउने र संसदीय मर्यादा कायम राख्न प्रयत्न गर्ने सांसदहरू पनि छन् । प्रतिनिधिसभाका बैठकमध्ये सबैमा उपस्थित हुने सांसदको संख्या अत्यन्तै न्यून रहेको तथ्यले पनि धेरै सांसदको उपस्थितिको अवस्थामाथि प्रश्न उठाएको छ । तर समस्या केही व्यक्तिको मात्र होइन; समस्या राजनीतिक संस्कारको हो ।
सांसदको पहिलो जिम्मेवारी संसदमा उपस्थित हुनु हो । तर हाजिर गरेर बैठकबाट बाहिरिने, बोल्नका लागि नाम टिपाउने तर आफ्नो पालो आउँदा सभाकक्षमै नदेखिने प्रवृत्तिसमेत देखिएको समाचार सार्वजनिक भएका छन् । यही कारण कतिपय बैठकमा गणपूरक संख्या नपुगेर विधेयकमाथिको छलफलसमेत स्थगित भएको छ ।
सांसद हुनु भनेको सरकारी कार्यालयमा हाजिर गरेर तलब बुझ्ने जागिर होइन । यो जनताले दिएको नैतिक जिम्मेवारी हो ।
जनताले पाँच वर्षका लागि हाजिर गरेर हराउनका लागि होइन, जनताको आवाज बन्नका लागि प्रतिनिधि चुनेका हुन्छन ।
संसद्को कुर्सी खाली हुनु केवल एउटा कुर्सी खाली हुनु होइन; त्यो कुर्सीमा भरोसा गरेर मतदान गरेका नागरिकको आवाज अनुपस्थित हुनु हो ।
सांसदलाई सबै विषयको विशेषज्ञ हुनुपर्छ भन्ने होइन । तर आफूले नजानेको विषयमा जान्ने बन्न खोज्नु र नजानेको स्वीकार गरेर अध्ययन गर्नुबीच ठूलो अन्तर हुन्छ । असल जनप्रतिनिधि प्रश्न सोध्छ । अध्ययन गर्छ । विज्ञसँग सल्लाह लिन्छ । तथ्य बुझ्छ । आफ्नो गल्ती सच्याउँछ । तर अहंकारले ग्रसित जनप्रतिनिधि प्रश्न सुन्न चाहँदैन । आलोचना सहन सक्दैन । नागरिकले प्रश्न गर्दा उत्तर दिनुको सट्टा प्रतिप्रश्न गर्छ । कहिलेकाहीँ नागरिक वा कर्मचारीप्रति धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका सांसदका घटनासमेत सार्वजनिक भएका छन् ।
यहीँबाट प्रश्न उठ्छ, माननीय पदले ज्ञान बढाएको हो कि केवल आवाज ठूलो बनाएको हो ?
पद ठूलो हुँदैमा मानिस ठूलो हुँदैन । पदले मानिसलाई ठूलो बनाउने हो भने त्यसमा विनम्रता, विवेक र जिम्मेवारी पनि ठूलो हुनुपर्छ ।
संसदमा मतभेद हुनु स्वाभाविक हो । सत्ता र प्रतिपक्षबीच प्रश्न/उत्तर हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर हरेक विषयमा नाराबाजी, अवरोध, व्यक्तिगत आरोप प्रत्यारोप र लामो समयसम्म एउटै विषयमा अड्किरहने प्रवृत्तिले संसद्को मूल उद्देश्यलाई कमजोर बनाउँछ । हालैका बैठकहरूमा विपक्षी दलहरूले निरन्तर विरोध गरेका घटना देखिएका छन् । अर्कोतर्फ, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयसम्म संसदमा विवाद चलिरहँदा संसद्को बहुमूल्य समय त्यसैमा खर्च भएको भन्दै सांसदहरूबाटै प्रश्न उठेको छ ।
लोकतन्त्रमा विरोध आवश्यक छ, तर विरोधको पनि उद्देश्य हुनुपर्छ । जनताले संसद् बन्द भएको हेर्न होइन, संसद्ले काम गरेको हेर्न मतदान गरेका हुन् । सांसदको बोली सामान्य नागरिकको बोलीभन्दा बढी जिम्मेवार हुनुपर्छ । किनकि उनीहरूको शब्दले नीति, प्रशासन, सुरक्षा निकाय र समाजमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । संसदीय समितिमा सुरक्षा निकायका प्रमुखमाथि गरिएका केही अभिव्यक्तिपछि प्रहरी नेतृत्वले समेत सांसदहरूको अभिव्यक्तिले संस्थागत मनोबल र संसदीय मर्यादामा असर गरेको गुनासो गरेको समाचार आएको छ ।
संसद्ले सरकार, प्रशासन, प्रहरी, न्याय प्रणाली र सबै सार्वजनिक संस्थामाथि प्रश्न उठाउनुपर्छ । तर प्रश्न गर्ने अधिकार र अपमान गर्ने अधिकार एउटै कुरा होइन । कडा प्रश्न सोध्नु लोकतन्त्र हो । तर व्यक्तिको गरिमा नष्ट गर्नु लोकतन्त्र होइन ।
यसबाट नयाँ पुस्ताले के सिक्ने ? आजका सांसदहरू केवल आजका लागि सांसद होइनन् । उनीहरूलाई हेरेर नयाँ पुस्ताले राजनीति सिकिरहेको छ । यदि संसदमा ठूलो स्वरमा बोल्नुलाई ज्ञान ठानिन्छ भने नयाँ पुस्ताले त्यही सिक्छ । यदि विपक्षीको कुरा सुन्नुलाई कमजोरी ठानिन्छ भने नयाँ पुस्ताले असहिष्णुता सिक्छ । यदि आलोचनालाई व्यक्तिगत दुश्मनी ठानिन्छ भने लोकतन्त्रको भविष्य कमजोर हुन्छ । र यदि नागरिकलाई प्रश्न गरेकोमा धम्क्याउनुलाई शक्ति ठानिन्छ भने लोकतन्त्र र जनप्रतिनिधिबीचको सम्बन्ध नै उल्टो हुन्छ । त्यसैले सांसदको आचरण केवल उनको व्यक्तिगत विषय होइन । त्यो राजनीतिक संस्कारको पाठशाला हो ।
सांसदलाई ‘माननीय’ भनेर सम्बोधन गर्ने परम्परा छ । तर त्यो सम्मान केवल औपचारिक शब्द होइन । जनताले दिएको सम्मान हो । जनताले सांसदलाई सडकमा रोकिएर प्रश्न गर्न सक्छन् । पत्रकारले प्रश्न गर्न सक्छन् । सामाजिक सञ्जालमा आलोचना गर्न सक्छन् । नागरिक समाजले जवाफदेहिता खोज्न सक्छ ।
किनकि लोकतन्त्रमा सांसद जनताभन्दा माथि हुँदैनन् । बरु उनीहरू जनताप्रति अझ बढी उत्तरदायी हुन्छन् । जनताले सांसदलाई कर उठाउने अधिकार दिएका होइनन्; जनताको करबाट चल्ने राज्य संयन्त्रलाई जनताको हितमा चलाउन निगरानी गर्ने जिम्मेवारी दिएका हुन् । त्यसैले सांसदको वास्तविक शक्ति उनको सुरक्षाकर्मी, गाडी वा पदमा होइन, जनताको विश्वासमा हुन्छ । अब संसदले आत्मसमीक्षा गर्नैपर्छ,
संसदले आफैँलाई केही कठोर प्रश्न सोध्ने बेला आएको छ, कति सांसद नियमित बैठकमा उपस्थित छन् ? कति सांसदले विधेयक पढेर बोल्छन् ? कति सांसदले आफ्नो निर्वाचन क्षेत्रका वास्तविक समस्या राष्ट्रिय नीतिसँग जोडेर उठाउँछन् ?
कति सांसदले आफूले बोलेको कुरा प्रमाणित गर्न सक्छन् ?
कति सांसद आलोचना सुन्न तयार छन् ? र सबैभन्दा महत्वपूर्ण कति सांसदले ‘म गलत रहेछु’ भन्न सक्ने साहस राख्छन् ?
यी प्रश्नको उत्तरले नेपालको संसदीय लोकतन्त्रको गुणस्तर निर्धारण गर्नेछ । संसदमा आवाज धेरै भएर मात्र लोकतन्त्र बलियो हुँदैन । तर्क बलियो हुनुपर्छ । सांसदको हातमा माइक भएर मात्र जनताको आवाज बलियो हुँदैन । त्यो माइकबाट तथ्य, विवेक र जनताको पीडा बोल्नुपर्छ ।
सांसदहरूलाई सबै कुरा थाहा हुनुपर्छ भन्ने अपेक्षा होइन । तर नजानेको कुरा सिक्ने विनम्रता अवश्य हुनुपर्छ । उनीहरूबाट गल्ती नहोस् भन्ने अपेक्षा पनि होइन । तर गल्ती स्वीकार गर्ने साहस हुनुपर्छ । उनीहरूले विपक्षीको कुरा मान्नैपर्छ भन्ने पनि होइन । तर विपक्षीको कुरा सुन्ने संस्कार हुनुपर्छ । र उनीहरूले नागरिकको हरेक आलोचनामा सहमत हुनुपर्छ भन्ने होइन । तर नागरिकले प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्नुपर्छ ।
आजको नेपालको सबैभन्दा ठूलो आवश्यकता केवल नयाँ अनुहार होइन, नयाँ राजनीतिक संस्कार हो । हामीलाई भाषण गर्न सक्ने सांसदभन्दा अध्ययन गर्न सक्ने सांसद चाहिएको छ ।
हामीलाई भीड जम्मा गर्न सक्ने नेताभन्दा नीति बनाउन सक्ने जनप्रतिनिधि चाहिएको छ । हामीलाई ‘माननीय’ लेखिएको परिचयपत्रभन्दा माननीय व्यवहार चाहिएको छ ।
त्यसैले प्रश्न अझै बाँकी छ, हाम्रा माननीय सांसदहरूमा ज्ञानको अभाव छ कि अहंकारको अधिकता ? सायद यसको उत्तर उनीहरूले संसद्को रोस्ट्रमबाट होइन, आफ्नो व्यवहारबाट दिनुपर्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया