
इतहरी । सरकारले भारतबाट नेपाल आउने यात्रुले ल्याउन पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत झिटीगुन्टासम्बन्धी व्यवस्था संशोधन गर्दै अब ५ सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाइने व्यवस्था गरिएको हो ।
यसअघि भारतबाट नेपाल आउँदा एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था थियो । नयाँ आर्थिक विधेयकमार्फत उक्त सीमा पाँच गुणाले बढाएर ५ सय रुपैयाँ पुर्याइएको हो ।
सरकारको यो निर्णयसँगै सीमावर्ती क्षेत्रका सर्वसाधारण तथा दैनिक उपभोगका साना सामान ल्याउने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
विद्यार्थीलाई ल्यापटपमा पनि भन्सार छुट
त्यस्तै, अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीलाई पनि सरकारले सहुलियत दिने व्यवस्था गरेको छ । आर्थिक विधेयकअनुसार अब विद्यार्थीले साथमा ल्याउने वा लैजाने एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक उपकरणमा भन्सार महसुल छुट दिइनेछ ।
सरकारले शिक्षा तथा प्रविधिमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ ।





