इटहरी । नेपालका रैथाने धान अब केवल परम्परागत खाद्यान्नमा सीमित नरही अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री हुने ‘प्रिमियम कृषि उत्पादन’ बन्न सक्ने सम्भावना देखिएको छ। कृषि वैज्ञानिक राजेन्द्र उप्रेती ले गरेको अध्ययनले नेपालका २ हजारभन्दा बढी स्थानीय धानका जातलाई वैज्ञानिक संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न सके विश्व बजारमा ठूलो अवसर सिर्जना हुने निष्कर्ष निकालेको हो।

लामो समय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत धान विशेषज्ञका रूपमा काम गरी निवृत्त भएका उप्रेतीका अनुसार नेपालका विभिन्न भूगोलमा पाइने धान स्वाद, सुगन्ध, पौष्टिकता, रोग प्रतिरोधात्मक क्षमता र जलवायु अनुकूलताका हिसाबले विश्वस्तरमै प्रतिस्पर्धी छन्। उनका अनुसार हिमालदेखि तराईसम्म पाइने धानका जातमा ‘विशिष्ट भौगोलिक पहिचान’ रहेको छ, जुन अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा ठूलो मूल्य हो।

हाल नेपालमा मार्सी, जोरायली बासमती, कालो नुनिया, काला नमक, जेठो बुढो, अनदी, जर्नेली, चुल्ठे, चनाचुर, बिरिमफुल, भोटाङे, ताकमारे र बास्नादार बासमतीजस्ता सयौँ रैथाने जात किसानले संरक्षण गर्दै आएका छन्। कतिपय जात लोपोन्मुख अवस्थामा पुगेका छन् भने केही जात अझै पनि सीमित क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन भइरहेका छन्।

कोशी प्रदेशमा रैथाने धानको व्यापक विविधता

उप्रेतीको अध्ययनअनुसार विशेषगरी कोशी प्रदेश मा अझै पनि उल्लेख्य मात्रामा स्थानीय धान खेती हुने गरेको छ। इलाममा रुदुवा, बासमती र जर्नेली, पाँचथरमा रामबोक, तौली र बेलकुटी, ताप्लेजुङमा बाघे तौली र कालो भँगेरी, धनकुटामा दुधराज, मिथिला, पोख्रेली र मेघदूत जात संरक्षणमा छन्।

यस्तै तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा पनि स्थानीय धानको समृद्ध विविधता पाइन्छ। सोलुखुम्बु जस्तो हिमाली जिल्लामा समेत मार्सी, साब्राली, ताकमार र नेचाली मार्सी उत्पादन हुनु नेपाली कृषि जैविक विविधताको उदाहरण भएको उप्रेती बताउँछन्।

तराई क्षेत्रमा कालो नुनिया, काला नमक, बासमती, लल्का बासमती र अनदी धानलाई निर्यातमुखी उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।

विश्व बजारमा ‘प्रिमियम राइस’ को ठूलो माग

अन्तर्राष्ट्रिय बजारमा विशेष गुण भएका चामलको मूल्य अत्यन्त उच्च रहेको उदाहरण दिँदै उप्रेतीले नेपालले पनि त्यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने बताएका छन्। उनका अनुसार भुटानको ‘हियरलुम रेड राइस’ हाल प्रतिकिलो २१.५ अमेरिकी डलरसम्ममा बिक्री भइरहेको छ। त्यस्तै अर्गानिक जाडे पर्ल राइस र अर्गानिक फरबिडन राइसको मूल्य पनि नेपाली रुपैयाँमा हजारौँ पर्ने गरेको छ।

“हामीसँग भएका मार्सी, बासमती, कालो नुनिया वा जेठो बुढोजस्ता धान स्वाद, सुगन्ध र पोषणका हिसाबले अझ विशिष्ट छन्,” उप्रेती भन्छन्, “तर हामीले तिनलाई वैज्ञानिक रूपमा दस्तावेजीकरण, प्याकेजिङ र ब्रान्डिङ गर्न सकेका छैनौँ।”

उनका अनुसार विश्व बजारमा अहिले ‘अर्गानिक’, ‘हियरलुम’, ‘रेजेनेरेटिभ फार्मिङ’ र ‘क्लाइमेट–स्मार्ट’ उत्पादनको माग तीव्र रूपमा बढिरहेको छ। नेपाली रैथाने धानलाई यही अवधारणासँग जोड्न सके युरोप, अमेरिका, जापान र खाडी मुलुकसम्म निर्यात विस्तार गर्न सकिने सम्भावना छ।

किसानको आम्दानी बढाउने अवसर

कृषि विज्ञहरूका अनुसार रैथाने धान संरक्षणले केवल सांस्कृतिक पहिचान जोगाउने मात्र होइन, ग्रामीण अर्थतन्त्र बलियो बनाउने आधार पनि तयार गर्न सक्छ। हाल किसानले सामान्य धानको तुलनामा रैथाने धानबाट धेरै कम उत्पादन लिने गरे पनि यसको बजार मूल्य बढी हुने भएकाले प्रतिफल राम्रो हुन सक्छ।

विशेषज्ञहरूले स्थानीय तह, कृषि अनुसन्धान परिषद्, सहकारी संस्था र निजी क्षेत्रबीच सहकार्य गरेर ‘जिआइ ट्याग’ (Geographical Indication), अर्गानिक प्रमाणीकरण, बीउ संरक्षण बैंक र निर्यात प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का तथ्याङ्कअनुसार नेपालमा धान खेती हुने क्षेत्रफल झण्डै १४ लाख हेक्टर छ भने कुल खाद्यान्न उत्पादनमा धानको योगदान सबैभन्दा बढी छ। तर पछिल्लो समय उन्नत तथा आयातित बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउने जोखिम बढिरहेको विज्ञहरूको चेतावनी छ।

कृषि वैज्ञानिक उप्रेतीले राज्यले समयमै नीति नल्याए बहुमूल्य स्थानीय धानका जात हराउने खतरा रहेको उल्लेख गर्दै रैथाने धानलाई “नेपालको भविष्यको निर्यात ब्रान्ड” का रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

तपाईको प्रतिक्रिया