- ✍️ तीर्थराज बजगाई
✍️ दृष्टिकोण : तीर्थराज बजगाई

चुनाव फेरि हाम्रो ढोकामा आइपुगेको छ । सडकका भित्ताहरूमा नयाँ पोस्टर टाँसिँदैछन् । चोकहरूमा मञ्च ठडिँदैछन् । माइकको परीक्षण हुँदैछ । नाराहरूको तालिम चलिरहेको छ । सामाजिक सञ्जालका भित्ताहरूमा राजनीतिक जोशको बाढी छ । तर यही उत्साहको भित्री तहमा एउटा गम्भीर मौनता छ देशको भविष्यबारे गहिरो संवादको अभाव प्रष्ट देखिएको छ ।
हामी कराउँदैछौं, तर के हामी गम्भीर रुपमा सोच्दैछौं ? हामी ताली बजाउँदैछौं, तर के हामी प्रश्न सोध्दैछौं ?
लोकतन्त्र केवल मत हाल्ने विधि मात्र होइन; त्यो विचारको संस्कार पनि हो । तर जब विचारभन्दा प्रदर्शन महत्त्वपूर्ण बन्छ, तब लोकतन्त्रको आत्मा नै थकित हुन्छ । प्रदर्शनको चमक, दृष्टिको ओझेल पछिल्ला दिनहरूमा राजनीति एउटा रंगमञ्चजस्तो देखिन थालेको छ ।पात्रहरू छन्, संवाद छन्, दर्शक छन् । तर पटकथा कति गहिरो छ ? यसको लेखाजोखा हुन छाडेको छ । कहिले उत्तेजित चर्को भाषण, कहिले सडकमा अप्रत्याशित र अनौठो उपस्थिती, कहिले सामाजिक सञ्जालमा आक्रोश मिसिएको भिडियो, यी सबैले तुरुन्त भावनात्मक लहर त उठाउँछन् । तर त्यो लहर ओह्रालो लागेपछि के बाँकी रहन्छ ? देशका जटिल प्रश्नहरू जहाँका त्यहीँ छन् – युवा किन विदेशिन बाध्य छन् ?
कृषि किन आत्मनिर्भर हुन सकेको छैन ? औद्योगिक क्षेत्र किन सुस्त छ ? संघीयता किन अझै प्रभावकारी बन्न सकेको छैन ? यी प्रश्नहरूको उत्तर स्टन्टमा होइन, नीतिमा हुन्छ । तर आज नीतिको ठाउँमा प्रस्तुति उभिएको छ । स्टन्ट राजनीति क्षणिक चमक हो । त्यो आँखा चिम्लिँदा हराउँछ । तर राष्ट्र निर्माण दीर्घकालीन दृष्टिकोण हो । पपुलिस्ट शैलीले जनताको पीडालाई शब्द दिन्छ । त्यसमा आकर्षण हुन्छ । त्यसमा ऊर्जा हुन्छ । “सबैलाई रोजगारी दिइने छ ।” “भ्रष्टाचार शून्य गरिने छ ।” “देश समृद्ध बनाउने छ।” आदि आदि ….; यी वाक्यहरू सुन्दा हृदयमा आशाको तरंग उठ्छ । तर जब आशा यथार्थसँग ठोक्किन्छ, त्यहाँ निराशा जन्मिन्छ ।
रोजगारी सिर्जना घोषणाबाट होइन, उत्पादन वृद्धिबाट हुन्छ । उत्पादन नीति, लगानी, पूर्वाधार र बजार व्यवस्थापनसँग जोडिएको हुन्छ । भ्रष्टाचार अन्त्य भावनात्मक भाषणले होइन, संस्थागत सुधारले सम्भव हुन्छ । तर पपुलिज्मले जटिल यथार्थलाई सरल कथा बनाउँछ—“हामी आएपछि सबै ठीक हुन्छ ।” यही सरल कथाले लोकतन्त्रलाई गम्भीर बहसभन्दा टाढा लैजान्छ ।
जब वाचा पूरा हुँदैन, जनता थाक्छन् । जब जनता थाक्छन्, लोकतन्त्र कमजोर हुन्छ ।
आज राजनीतिक बहस मञ्चभन्दा बढी मोबाइल स्क्रिनमा हुँदैछ । सामाजिक सञ्जालले चर्को स्वरलाई अगाडि सार्छ । गहिरो तर्कभन्दा उत्तेजक अभिव्यक्ति छिटो फैलिन्छ । यसले नेताहरूलाई पनि शैली परिवर्तन गर्न बाध्य बनाउँछ । लामो नीति दस्तावेजभन्दा छोटो आक्रोश लोकप्रिय हुन्छ । गम्भीर विश्लेषणभन्दा कटाक्ष भाइरल हुन्छ । यसरी लोकतन्त्र विस्तारै प्रदर्शनमुखी बन्दै जान्छ । तर राष्ट्र निर्माण ‘भाइरल’ भएर हुँदैन; त्यो धैर्य, निरन्तरता र स्पष्ट योजनाबाट मात्र सम्भव हुन्छ ।
आगामी चुनाव केवल प्रतिनिधि चयन होइन; यो राष्ट्रिय दिशाको छनोट हो । नेपाल अहिले आर्थिक दबाब, युवाको पलायन, रोजगारी अभाव र संस्थागत अस्थिरताको चौराहामा उभिएको छ । यस्तो अवस्थामा भावनात्मक नाराले होइन, नीतिगत स्पष्टताले मार्ग देखाउनुपर्छ । नीतिगत स्पष्टता भन्नाले— यथार्थमा आधारित आर्थिक खाका तथा मापनयोग्य लक्ष्य, स्रोतको पारदर्शी विवरण, पाँच वर्षको स्पष्ट रोडम्याप आदि पर्दछन । यदि चुनावी बहसमा यी विषय गौण भए भने उत्साहको शुरुआत र निराशाको अन्त्य सिवाय अरु केही हुने छैन ।
लोकतन्त्रमा अन्तिम शक्ति जनताको हातमा हुन्छ ।
यदि हामी ताली मात्र बजाउने दर्शक बन्यौं भने राजनीति पनि रंगमञ्चमै सीमित रहनेछ । यदि हामी प्रश्न गर्ने नागरिक भयौं भने राजनीति जिम्मेवार बन्न बाध्य हुनेछ ।
हामीले सोध्नैपर्छ— “कसरी ?” “कति समयमा ?” “कुन स्रोतबाट ?” आदि आदि …….! यही प्रश्नले नारा र नीतिबीचको भिन्नता स्पष्ट पार्छ । स्टन्ट र पपुलिस्ट शैली लोकतन्त्रको शत्रु होइनन्; तर जब तिनले नीति विस्थापित गर्छन्, तब लोकतन्त्रको गहिराइ हराउँछ ।
लोकतन्त्रको शक्ति चर्को स्वरमा होइन, स्पष्ट दृष्टिमा हुन्छ । लोकप्रियता क्षणिक हुन्छ; नीति दीर्घकालीन प्रभाव बोकेको हुन्छ । आजको प्रश्न सरल तर त्यति नै गम्भीर छ- हामीलाई चमक चाहिएको हो कि चरित्र चाहिएको हो ? हामीलाई नारा चाहिएको हो कि नीति चाहिएको हो ? हामीलाई ताली चाहिएको हो कि परिणाम चाहिएको हो ? यदि हामीले विवेकलाई प्राथमिकता दियौं भने लोकतन्त्र परिपक्व हुनेछ । यदि हामीले प्रदर्शनलाई पुरस्कृत गर्यौं भने भविष्य फेरि ओझेलमा पर्नेछ । चुनाव आउँछ र जान्छ । तर राष्ट्रको दिशा हरेक निर्णयसँग जोडिएको हुन्छ। अब निर्णय हाम्रो हातमा छ— हामीले लोकतन्त्रलाई गहिरो बनाउने कि सतही बनाउने हो ?
समयले हामीलाई हेरिरहेको छ । इतिहासले हाम्रो छनोटलाई स्मरण गर्नेछ।

तपाईको प्रतिक्रिया