इटहरी । खनार क्षेत्रकी चर्चित सामाजिक व्यक्तित्व सिता देवी ढकालको असामयिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनु भएकी इटहरी उपमहानगरपालिका–१२, खनार निवासी ढकालको गए राति करिब १ बजे आफ्नै निवासमा निधन भएको हो।

युवा अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै विभिन्न सामाजिक तथा संघ–संस्थामार्फत समाजसेवामा समर्पित ढकालको निधनले खनार क्षेत्र शोकमा डुबेको छ। स्थानीयवासीहरूका अनुसार सामाजिक चेतना अभिवृद्धि, महिला सशक्तीकरण तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिकामा रहनु भएकी ढकालको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले यस क्षेत्रले एक समर्पित समाजसेवी गुमाएको उनीहरूको भनाइ छ।

स्वर्गीय ढकालका श्रीमान् समाजसेवी तथा सञ्चारकर्मी मोहन ढकाल, एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार ढकालको आज इटहरीस्थित घाटमा बिहान ११ बजे अन्त्येष्टि गरिनेछ।

उनको निधनप्रति विभिन्न सामाजिक संघ–संस्था, राजनीतिक दल तथा स्थानीयवासीहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया